संविधानको खुसीयाली र विरोधमा कार्यक्रम

धनकुटा, ११ असोज । नेपालको संविधान २०७२ जारी भएको खुसियाली र विरोधमा सोमबार धनकुटामा दुवै पक्षले कार्यक्रम गरेका छन् । संविधानको खुसियालीमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम अयोजना गरेका छन् भने लिम्बूवान संयुक्त संघर्ष समितिले संविधानको बिरोधमा कार्यक्रम गर्ने जनाएको छ ।

संविधान पक्षधरले दिउँसो दुई बजे सदरमुकामस्थित सामुदायिक भवनमा संविधानले दिएका उपलब्धिका विषयमा जानकारी दिँदै संविधान कार्यान्वयनका विषयमा छलफल र नजिकिँदै गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको कांग्रेस प्रचार विभाग प्रमुख विजय सन्तोषी राईले जानकारी दिए । यता संविधानको विरोध गर्दै आएको लिम्बूवान संयुक्त संघर्ष समितिले राजारानी बजारमा दिउँसो १२ बजे विरोध कार्यक्रम गरेका छन् । संविधानको विरोधमा नारा जुलुससहित विरोध सभा गरी संविधान जलाइएकोे लिम्बुवान संयुक्त संघर्ष समिति संजोजक चन्द्रसिंह नेम्बाङले जानकारी दिए ।

यसअघि पनि संविधानको स्वागत तथा खुसीयाली मनाउँदै आएका र विरोध गर्दै आएका दुवै पक्षले बेग्ला–बेग्लै कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया