बर्दिया, ८ असोज । बोक्सीको आरोपमा आफ्नो परिवारमाथि भएको पटकपटकको अमानवीय व्यवहार तथा मानसिक यातनाविरुद्ध न्याय खोज्दै प्रहरीको शरण पुगेको १ परिवार अन्ततः मिलापत्रमा चित्त बुझाउन बाध्य भएको छ ।
न्याय खोज्दै इलाका प्रहरी कार्यालय जयनगरमार्फत रामपुर इलाका प्रहरी कार्यालय बानियाभार पुगेको धधवार गाविस–९, डपैmगाउँकी ७१ वर्षीया लवरी (पियारी) थारूको परिवारलाई गाउँघरकै विषय भन्दै प्रहरीले बडघर (गाउँको मुखिया)को अनुरोधमा मिलापत्र गराइदिएको हो ।
बोक्सीसम्बन्धी (कसुर र सजाय) ऐन २०७१ अनुसार कसैले कसैलाई बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारको सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई १ वर्षदेखि ३ वर्षसम्म कैद सजाय तथा १० हजारदेखि ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । तर, शरीरमा देउता चढेको र देउताले नै बोक्सी देखाएको भन्दै लवरीसहित उनको परिवारलाई बोक्सी आरोप लगाउनेलाई कार्बाहीको साटो सहमतिका नाममा छोडिएको छ ।
पीडित लबरी र उनको परिवारलाई धधवार गाविस–९ डपैmया गाउँकै ४० वर्षीया जगमोति थारू र २६ वर्षीया राजकुमारी थारूलगायतका महिलाले १ वर्षअघिदेखि नै पटकपटक र्दुव्यवहार तथा गाली बेइज्जती गर्दै आएका थिए ।
पटकपटकको दुव्र्यवहार तथा मानसिक यातना सहन नसकी छलफलका लागि गाउँका बडघर (गाउँको मुखिया) मार्फत असोज ६ गते बोलाइएको कचहरी (भेला) मा सार्वजनिक रूपमै जगमोति र राजकुमारीसहित २५ जना महिलाहरूले आपूmहरूमाथि गालीगलौज तथा दुव्र्यवहार गरेको पीडित लवरी थारूले बताइन् । सार्वजनिकरूपमा भएको भेलामा छलफल हुन नसकेपछि प्रहरीले पीडक र पीडित पक्षलाई इलाका प्रहरी कार्यालय जयनगरमा बोलाएर छलफल गराएको थियो । छलफलकै क्रममा शरीरमा देउता आयो भन्दै काँप्दै जगमोती र राजकुमारीले पीडित लबरीलाई प्रहरी कार्यालय हाताभित्रै बोक्सीको लाञ्छना लगाउँदै दुव्र्यवहार तथा आक्रमणको प्रयास गरेका थिए ।
पीडक जगमोति र राजकुमारीले अपशब्द बोल्दै देउतासँग गएर माफी माग्नुपर्ने र बोक्सी लाग्न छोड्नुपर्ने भन्दै दुव्र्यवहार गरिरहँदा पीडित पक्षले भने आपूmहरू बोक्सी नभएको र न्याय पाउनुपर्ने बताइरहेका थिए ।
पीडित परिवारको तर्फबाट न्यायको लागि निवेदन दिएकी लबरीकी १७ वर्षिया नातिनी पविता चौधरीले प्रहरी कार्यालयभित्रै यस संवादातासँग रुँदै भनिन्, ‘यहाँ (प्रहरी कार्यालयभित्र) त यस्तो गर्छन् तपाईंले नै देख्नुभयो, उहाँ (गाउँमा) कस्तो गर्छन् होला ।’ उनले आपूmहरूलाई गाउँ र विद्यालयमा समेत बोक्सी भनेर दुव्र्यवहार गर्ने गरेको र आफ्ना साथीहरूले पनि साथ छोडेको बताइन् ।
इलाका प्रहरी कार्यालय बनियाभारका इन्स्पेक्टर सुरेश विष्टले घटनाको बारेमा बुझेको र गाउँका वडघर वहेलिया थारूले अबदेखि यस्तो नहुने भनेकाले सहमतिको कागज बनाएर पीडकलाई छाडिएको बताए । विष्टले भने, ‘पीडित पक्ष कानुनी रूपमा अगाडि बढ्न नखोजेकोले व्यावहारिक पक्षलाई हेरी दुवैको सहमतिमा कागज गरिएको हो । घटना दोहोरिए तत्कालै कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।’
पीडितकी नातिनी पविता चौधरीले आफूहरूमाथि हुने गरेको गालीगलौज तथा दुव्र्यवहारको कानुनी उपचार खोजे पनि वडघरको दबाबमा सहमति गर्नुपरेको बताइन् । उनले सहमति भए पनि पीडकहरूले आपूmहरूलाई बोक्सीको लाञ्छना र दुव्र्यवहार गर्न नछाड्ने दाबी गरिन् ।
इन्सेक प्रतिनिधि मानबहादुर चौधरीले सरकारवादी फौज्दारी मुद्दाहरूमा सहमति गराउन नमिल्ने भए पनि राजनीतिक दल, बडघर तथा प्रहरीकै दबाबमा यस्ता धेरै मुद्दामा सहमति गराउने गरिएको पाइएको बताए ।
पीडित पक्षबाट पार्वती चौधरी र वेलमोति थरुनीले इलाका प्रहरी कार्यालय जयनगर, मगरागाडीमा असोज ६ गते न्यायको लागि निवेदन दिएका थिए । इलाका प्रहरी कार्यालय जयनगरले बोक्सीको आरोप लगाउनेमा अगुवाई गर्ने जगमोति थारू र राजकुमारी थारूलाई इलाका प्रहरी कार्यालय बनियाभार पठाएको थियो ।
प्रतिक्रिया