जनकपुर, ८ असोज । एमाओवादीका नेता डा. बाबुराम भट्टराई शुक्रबार जनकपुर आएर मधेस आन्दोलनमा समर्थन जनाउने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । डा. भट्टराई जनकपुर आउने कार्यक्रम सार्वजनिक भए लगतै आन्दोलनमा रहेको संयुक्त लोकतान्त्तिक मधेसी मोर्चा, संघीय मधेसी मोर्चा, संयुक्त युवा संघर्ष समिति र मधेस अधिकार संघर्ष समिति मासले प्रवेश निषेध गर्ने निर्णय गरेपछि आउने वातावरण उचित नभएको भन्दै स्थगित भएको एमाओवादीका नेता श्रवणकुमार बरबरियाले जानकारी दिएका छन् ।
उनका अनुसार आन्दोलनमा रहेका दलसँग विमर्श गरी उचित वातावरण बनाएर डा.भट्टराईको आउने कार्यक्रम तय गरिनेछ ।
मधेसमा लामोसमयदेखि चलिरहेको आन्दोलन बिथोल्नसक्ने भन्दै विभिन्न शंका उपशंकाका कारण बिहीबार युवाहरू तथा मोर्चाले आउन रोक लगाउने जनाएको थियो ।
मोर्चा तथा युवाले भट्टराई जनकपुर आए विमानस्थलमै कालो झन्डा देखाउने तथा रोक लागाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया