काठामाडौं, ८ असोज । नेपाली सिनेमा हलहरूमा शुक्रबार एकैचोटी ५ ओटा चलचित्र रिलिज भएका छन् । ३ वटा नेपाली र २ वटा हलिउडका फिल्म एकैचोटी रिलिज भएका हुन् । नेपाली चलचित्रहरू सुदर्शन थापा निर्देशित ‘चंखे शंखे पंखे, अशोक राई निर्देशित ‘भाले फाइट’ र दिनेश श्रेष्ठको निर्देशन रहेको ‘कामचोर’ रिलिज भएका छन् । भने हलिउडका चलचित्र ‘एभरेस्ट र हाइवे टु धुम्पुस’ पनि शुक्रबार नै रिलिज भएको हो । हलिउड फिल्म एभरेस्ट र हाइवे टु धुम्पुसमा नेपाली परिवेशलाई देखाइएको छ ।
५ फिल्म रिलिजसँगै अघिल्लो साता रिलिज भएको ‘वडा नम्बर ६’ समेत केही हलमा बाँकी रहेकाले दर्शकले छानीछानी फिल्म हेर्न पाउने भएका छन् । तर, निर्माताको तनाव बढेको छ । तराईमा जारी आन्दोलनका कारण तराई क्षेत्रको हलको व्यापार ठप्प भएकाले प्रायः चलचित्रको रिलिज राजधानीमै सीमित छ ।
सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा, पे्रम पुरीलगायतको अभिनय रहेको ‘शंख चंखे पंखे’ देशप्रेमको कथामा आधारित चलचित्र हो । बाबु बोगटी, रीमा विश्वकर्मा, अजय श्रेष्ठलगायतको अभिनय रहेको ‘भाले फाइट’ प्रेमकथामा आधारित छ । अर्को फिल्म ‘कामचोर’मा बेरोजगार युवाको अवस्था चित्रण गरिएको छ । पुष्कर रेग्मी, रवीन्द्र बस्नेत, एवन उप्रेती, हर्षिका श्रेष्ठलगायतका कलाकारले ‘कामचोर’मा अभिनय गरेका छन् ।
शुक्रबारदेखि नै हलिउडका निर्देशकले देखेका हिमाली परिवेशमा आधारित २ फिल्म रिलिज भएका छन् । रिक म्याकफल्यान्डको निर्देशनमा निर्माण भएको ‘हाई वे टु धुम्पुस’ मा नेपाली कलाकार राजबल्लभ कोइराला, देशभक्त खनालसहित केही विदेशी कलाकार रहेका छन् ।
प्रतिक्रिया