हुम्ला, ७ असोज । कर्णाली कोरिडोरमा भएका कामहरूको स्थलगत अनुगमनका लागि अर्थमन्त्री डा. रामशरण महतसहित १९ जनाको टोली हुम्लामा पुगेको छ । अर्थमन्त्रीको स्वागतमा जिल्ला सदरमुकाम सिमिकोटमा गरिएको कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले चीनको नाका खोल्दा आवश्यक वस्तु आयात गर्न सजिलो हुने भएमा हिल्सा नाका खोल्नका लागि आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
साथै कर्णाली कोरिडोरका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । अर्थ मन्त्रालय र सरकारले हिल्सा सिमिकोट सडकखण्डका लागि आवश्यक बजेटको समेत व्यवस्थागर्ने बताएका छन् । यसैगरी नेपाल–चीन सीमामा रहेको हिल्सा नाकामा नेपाल–चीन जोड्ने पुल निर्माणका लागि चीन सरकारसँग पहल भइरहेको समेत बताए । सोही कार्यक्रमा बोल्दै हुम्ला जिल्लाका सभासद् जीवनबहादुर शाहीले हिल्सा नाकामा भन्सार कार्यालय राख्न आग्रह गरेका छन् । कार्यक्रमा विभिन्न राजनीतिक दलका प्रतिनीधि र निजामती कर्मचारीहरूको तर्फबाट हुम्लाको विकास र दुर्गम जिल्लामा कार्यरत कर्मचारीका मागसमेत मन्त्री महतलाई हस्तान्तरण गरिएको थियो । निरीक्षण टोलीमा योजना आयोगका सदस्य डा. सोर्णिम बाग्लेसहित हुम्ला जिल्लाका सभासद् जीवनबहादुर शाहीसमेतको १९ जनाको टोलीरहेको छ । नेपाल सरकारले गतवर्षको बजेटबाट कालीकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्म कर्णाली कोरिडोरको निर्माण कार्य नेपाली सेनालाई जिम्मा दिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार बिहान सिमिकोट पुगेको टोली सदरमुकाम सिमिकोटको कार्यक्रम सकेर हेलिकप्टरबाटै नेपाल –चीन सिमानामा पर्ने हिल्सा नाकामा जाने कार्यक्रम रहेको छ । त्यसपश्चात् कालिकोट र डोल्पा जाने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया