प्युठानका कृषकहरू मौरीपालनमा

mahuripalanप्युठान, ७ असोज । चुँजा–५ बान्नाका लेखराज शर्माले मौरीपालन व्यवसाय सुरु गरेको १ दशक बढी भएको छ । ०५९ सालमा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय प्युठानले आयोजना गरेको ७ दिने आधुनिक मौरीपालन तालिममा सहभागी भएपछि शर्मा व्यावसायिक मौरी पालनमा लागेका हुन् ।

‘पहिले जंगलबाट मुढे घार ल्याएर मौरी पालेको थिएँ,’ शर्माले भने, ‘तालिम लिएपछि आधुनिक घारमा पाल्न थालेको छु ।’ शर्मासँग हाल २५ वटा घारमा सेराना जातका मौरी रहेका छन् । उनले पहिले प्रयोग गरेको मुढे घारलाई अहिले पासोको रूपमा प्रयोग गर्दै आएको बताए । गतवर्ष १ क्विन्टल मह बिक्री गरेको शर्माले बताए । ‘७ सय रुपैयाँ प्रति किलोसम्म बिक्री भएको थियो,’ उनले भने, ‘बिक्री गर्न केही समस्या छैन ।’ घरमा श्रीमती र छोरालेसमेत मौरी पालनमा सघाउने गरेको उनले जानकारी दिए । शर्मालाई लघु उद्यम विकास कार्यक्रमबाट २ वटा घार, आधार चाका बनाउने मेसिन छुटमा उपलब्ध भएको छ । त्यसैगरी घरेलुबाट ५ वटा छुटमा प्राप्त गरेको शर्माले बताए । आधुनिक घारको प्रयोगले उत्पादनसमेत बढेको शर्माको भनाइ छ ।

गतवर्ष जिल्ला कृषि विकास कार्यालयले गाविसका शर्मासहित इश्वरी पौडेल र पोमबहादुर नेपालीलाई मौरी पालनतर्फ २÷२ लाख रुपैयाँ अनुदान सहयोग गरेपछि कृषकहरू थप आर्कषित भएका छन् । नेपालीले अब महको सिजन सुरु हुने भएकाले १९ घारमा मौरी राखेको बताए । उनले हालै लघु उद्यम विकास कार्यक्रमबाट आधुनिक मौरीपालनसम्बन्धी सीप तालिमसमेत पाएको जानकारी दिए । मौरीपालनको लागि पकेट क्षेत्रसमेत भएकाले मौरीपालन व्यवसाय गर्नेहरू बढेको ग्रामीण आर्थिक विकास मञ्चद्वारा गठित अनुशासित लघु उद्यमी समूहका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । उनले हालै मात्र १० जना कृषकले मौरीपालन तालिम प्राप्त गरेको जानकारी दिए । ‘तालिमले कृषकहरूलाई थप हौसला मिलेको छ,’ उनले भने ।

कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले स्थानीयको चाहना, स्रोत र बजार मागको आधारमा उद्यमशीलतासम्बन्धि तालिमपछि सीप तालिम प्रदान गरिएको बताए । उनले चुँजा मौरीपालनका लागि पकेट क्षेत्र भएकाले समेत उद्यमीहरूलाई सक्रिय बनाउन सहजीकरण गर्दै आएको बताइन् ।

जिल्लाका हंसपुर, बांगेशाल, बडडाँडा, विजुवार, माझकोटलगायतका गाविसहरू मौरीपालन व्यवसायका लागि पकेट क्षेत्र मानिने जिल्ला कृषि विकास कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया