गुरुङलाई देख्ला अख्तियारले ?

‘फ्री भिसा’, ‘फ्री टिकट’को निर्णयले चर्चामा आएका राज्यमन्त्री गुरुङले हिमाल जनशक्ति म्यानपावरबाट ११ लाख रुपैयाँ रकम असुलेर गरिब नेपाली महिला कामदारलाई इजरायल पठाउने गरेको स्रोतको दाबी छ ।

tak bahadur gurungकाठमाडौं, ६ असोज । हिमाल जनशक्ति म्यानपावरका सञ्चालक तथा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ वर्तमान मन्त्रीमण्डलमा चर्चामा रहेका मन्त्रीमध्ये एक हुन् ।

म्यानपावर सञ्चालक राज्यमन्त्री टेकबहादुर गुरुङको पदको पनि दिन गणना सुरु भएको छ । राज्यमन्त्री गुरुङले राज्यमन्त्री बनेर फिल्मी शैलीमा पैसा असुलेको श्रम तथा रोजगार मन्त्रालय स्रोतको दाबी छ । उनी राज्यमन्त्री बनेलगत्तै बायोमेट्रिक, भिएलएन लगाएतका विषयमा आर्थिक चलखेलको नाममा निकै चर्चामा आए । उनको २९ जेठको ‘फ्री भिसा’, ‘फ्री टिकट’को निर्णयसँगै अगाडिका सबै कालो दाग मेट्न सफल भए । मन्त्रीका बारेमा नजाने पनि नेपालमा म्यानपावर व्यवसायीका बारेमा जानकारहरू भन्न थाले, ‘मन्त्री हुनु त राज्यमन्त्री गुरुङ जस्ता’ ।

‘फ्री भिसा’, ‘फ्री टिकट’को निर्णयले चर्चामा आएका राज्यमन्त्री गुरुङले हिमाल जनशक्ति म्यानपावरबाट ११ लाख रुपैयाँ रकम असुलेर गरिब नेपाली महिला कामदारलाई इजरायल पठाउने गरेको स्रोतको दाबी छ ।

गुरुङको म्यानयावरले ११ लाख रुपैयाँ प्रतिमहिला कामदार लिने गरेको थियो । राज्यमन्त्री गुरुङको आडमा श्रम ग्राम ताहाचलस्थित काठमाडौं कार्यालयले घुस नभई काम नगर्ने । ताहाचल कार्यालयका कर्मचारीहरूले घुस नभई पूर्वस्वीकृति, अन्तिम स्वीकृतिका काम नगरेको व्यवसायीहरूको अहिले पनि दुुखेसो छ । वैदेशिक रोजगार विभागले गुनासो आएका ६१ वटा म्यानपावरको अनुगमन गरिसकेपछि राज्यमन्त्री गुरुङले अनुगमन रोक्ने र अनुगमन भइसकेकाहरूलाई थप कारबाही हुन नदिने भनी रकम संकलन गरेको मन्त्रालय स्रोतको भनाइ छ ।

म्यानपावर व्यवसाय नै गर्दै आएका राज्यमन्त्री गुरुङले सो क्षेत्रका केही व्यवसायीलाई नै अनुगमन रोक्ने सर्तमा आर्थिक संकलन गर्न खटाएको स्रोतको दाबी छ । राज्यमन्त्री गुरुङले घुस संकलन गर्न खटाएका एसओएस म्यानपावरका सञ्चालक हेम गुरुङले अनुगमन रोक्न प्रतिम्यानपावर ५ देखि १० लाख रुपैयाँ लिएको एक व्यवसायीले नाम नखुलाउने सर्तमा बताए । व्यवसायीका अनुसार अनुगमन रोक्ने सर्तमा हेम गुरुङले म्यानपावरहरूबाट एक करोड रुपैयाँ संकलन गरी मन्त्रीलाई बुझाइसकेका छन् । महाधिवेशन खर्च माथिसम्म बुझाउनुपर्छ भन्दै राज्यमन्त्री गुरुङले रकम संकलन गर्न लगाइएको बताइएको छ । स्मरण रहोस्, तत्कालीन समयमा राज्यमन्त्री गुरुङले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई मोटो रकम टक्र्याएर राज्यमन्त्री बनेको चर्चा पनि नचलेको होइन । राज्यमन्त्री गुरुङलाई रकम संकलन गर्न इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिका वाइबी राई पनि अग्रसर रहेका छन् । उनी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उपाध्यक्ष हुन् ।

राईले पनि म्यानपावर हेरी मन्त्रीका लागि महाधिवेशनमा केन्द्रीय सदस्य जिताउने भनेर समेत रकम असुली गरिरहेका छन् । म्यानपावर बजारतर्फका द रिभर ओभरसिजका रघु पुरीसमेत राज्यमन्त्रीको घुस संकलन गर्ने टोलीमा रहेको स्रोतको भनाइ छ । दिन दहाडै म्यानपावर व्यवसायीलाई प्रयोग गरेर म्यावसायीसँगै पैसा असुल्ने राज्यमन्त्री गुरुङलाई अख्तियारले नदेखेको विषयमा भने व्यवसायीहरू नै आश्चर्यमा परेको एक व्यवसायी बताउँछन् । उनी भन्छन्, ‘जाने बेला गुरुङले जे पनि गर्न सक्छन् भनेजति नसके पनि सकेजति त पैसा दिनै प¥यो, नेपालमा संविधान २०७२ बनेको छ, यस्ता घुसखोरीलाई अख्तियारले कहिले देख्ला ?’ उनको प्रश्न छ ।

प्रतिक्रिया