छात्रवास खुल्यो, विद्यार्थी दंग

सिन्धुपाल्चोक, ६ असोज । जिल्लाको तेर्से उच्च माध्यमिक विद्यालयले छात्रवासको व्यवस्था गरी विद्यार्थीलाई सुविधा दिएको छ । विनाशकारी भूकम्पपछि विद्यार्थीहरू घरबाट विद्यालयसम्म जान अप्ठ्यारो भएको हुँदा छात्रवासको व्यवस्था गर्न परेको विद्यालयले जनाएको छ ।

भूकम्पपछि विद्यार्थीहरू विद्यालयसम्म पुग्नका गाह्राले पढाइ नै छाड्ने अवस्था आएको हुँदा छात्रवासको व्यवस्था गर्नुपरेको पूर्व प्रअ तथा छात्रवास सञ्चालक समितिका संयोजक जीतराज थापाले बताए । उनी भन्छन्, ‘महाँकाल, डिही कल्लेरी, उर्लेनी, तालामाराङ बतासे, तालामाराङ उपल्लो गाउँ, सिन्धुकोट पैयुँखर्क, दुबाचौरका विद्यार्थीहरू विद्यालयसम्म आउन मुस्किल परेका कारण छात्रवासको व्यवस्था गर्नुप¥यो ।’

असार महिनामा सुरुवात गरेको छात्रवास पहिले अस्थायी रूपमा कोलेचौरमा सञ्चालन गरिए पनि अहिले नेपानेमा सञ्चालन गरिएको छ । गैरसरकारी संस्था टिम नेपालको सहयोगमा सञ्चालन गरिएको छात्रवासमा अहिले कक्षा दुईदेखि दस कक्षासम्मका सत्तरी विद्यार्थी रहेको होस्टल वार्डेन पार्वती बस्नेतले जानकारी दिइन् ।

टिम नेपाल, टिच फर नेपाललगायत संस्थाले खाद्यान्न सहयोग गरेका कारण तीन महिना छात्रवासमा बस्ने सबै विद्यार्थीलाई निःशुल्क खानेबस्ने व्यवस्था गरिए पनि असोज महिनादेखि न्यून शुल्क लिएर उनीहरूलाई राख्ने व्यवस्था मिलाइएको प्रअ लय प्रसाईंले जानकारी दिए । होस्टलमा अस्थायी रूपमा टेन्ट राखेर बस्ने व्यवस्था मिलाइएको छ । हालै सम्पन्न अभिभावकहरूको भेलापछि विद्यार्थीलाई सशुल्क रूपमा राख्न पनि अभिभावकहरू राजी भएको छन् । भेलामा उपस्थित अभिभावक तेजबहादुर तामाङले भने, ‘हाम्रा बच्चाहरू घरबाट विद्यालय आउन मुस्किल परेको हँुदा शुल्क बुझाएरै भए पनि राख्न तयार छौँ । यहाँ बस्ने खाने मात्र होइन बिहान, बेलुकी पढाइमा ध्यान दिइने हुँदा यहाँ बस्न धेरै फाइदा छ ।’

विद्यालयले समयमै छात्रवासको व्यवस्था गर्न नसकेको भए ७० जनाको हाराहारीमा विद्यार्थी घट्ने विद्यालयका सहायक प्रअ कृष्ण ढुंगानाले बताए । छात्रवासमा बसेर पढ्न पाउँदा विद्यार्थीहरू खुसी व्यक्त गर्छन् । कक्षा १० का विजय तामाङले भने, ‘विद्यालयले छात्रवासको व्यवस्था गरी संरक्षकत्व दिएकाले यसपालि पढ्न सम्भव भयो, नत्र त पढाइ नै छुट्ने अवस्था थियो ।’

प्रतिक्रिया