संखुवासभा, ६ असोज । संखुवासभाको चैनपुर–बाह्रबिसे सडक बाढीपहिरोले भत्काएको भन्दै तत्काल मर्मत गरिदिन स्थानीयबासीले जिल्ला विकास समितिसँग माग गरेका छन् । यस सडकखण्ड अन्र्तगत पर्ने हेवा खोलामा बाढीले सडक भत्काएपछि गत वैशाखदेखि यातयात ठप्प भएको हो ।
यातयात सञ्चालन रोकिएपछि ढुवानी समस्या भएको छ । वाना, बिहीबारे, बाह्रबिसे, सभापोखरी र दोभाने क्षेत्रमा खाद्यन्नलगायत अत्यावश्यक सामग्रीको अभाव सुरु भएको छ । सडक सरोकार समितिका सचिव प्रदिपकुमार श्रेष्ठको नेतृत्वमा एक टोलीले मंगलबार स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीलाई मर्मत गर्न अनुरोधपत्र बुझाएको छ । स्थानीय विकास अधिकारी सुवेदीले जिल्ला सडक सञ्जालभित्रको यो मुख्य सडकखण्ड रहेकाले यसको मर्मतका लागि तत्काल पहल गर्ने बताए ।
चार सय बढी स्थानीय वासीको उपस्थितिमा सडक मर्मतमा जुट्ने निर्णय गरेका छन् । यातयात व्यवसायी र स्थानीयबासीले चैनपुरदेखि वानासम्मको सडक मर्मत गरी दसैँ अगाडि नै यातयात सञ्चालन गर्ने सचिव श्रेष्ठले बताए ।
जिविसले दसैँअघि नै खोलामा स्काभेटर प्रयोग गरी यातयात सञ्चालनमा ल्याउन सहयोग माग गरेका छन् । यस सडकखण्डअन्तर्गत वानासम्म धरानबाट सिधा यातयात दुई वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त सेवा हाल ठप्प छ ।
प्रतिक्रिया