धनकुटा, ६ असोज । लिम्बूवान संयुक्त संघर्ष समितिले आह्वान गरेको चार दिनदेखिको लगातार बन्दले पूर्वी नेपालका नौ जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । अरुण, सप्तकोसी पूर्वका ९ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बूवान राज्य घोषणाको माग गर्दै ३ असोजदेखि अनिश्चितकालीन आमहड्ताल आह्वान गरेको हो ।
संविधान जारी भएको दिनदेखि नै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, सुनसरी, मोरङ र झापाको जनजीवन प्रभावित भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । ती जिल्लामा सार्वजनिक यातायात ठप्प छन् । निजी तथा साना सवारी भने फाटफुट मात्रामा सञ्चालनमा छन् । दुई पांग्रे र आकस्मिक प्रयोजनका सवारी भने निर्वाद रूपमा सञ्चालन भइरहेका छन् ।
सार्वजनिक सवारी ठप्प भएर आवतजावत र उपभोग्य सामाग्री ढुवानी गर्न नसक्दा सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । अनिश्चितकालीन तराई बन्द पनि नखुलेकाले पूर्वी तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
तराईमा भइरहेको एक महिना बढी लगातारको बन्द र पहाडी जिल्लामा पनि पटक–पटक भइरहने बन्द–हड्तालले पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको हो । बन्दले हैरान सर्वसाधरण कतिपय स्थानमा बन्दको प्रतिकारमा पनि उत्रन थालेका छन् । बन्दले यातायात क्षेत्र प्रभावित भए पनि बजार पसल, शिक्षण संस्था, उद्योगधन्दा क्षेत्रमा भने बन्दको खासै प्रभाव देखिएको छैन ।
प्रतिक्रिया