रूपन्देही, ५ असोज । भारतले देशका विभिन्न स्थानमा सीमा नाकाबाट मालबाहक सवारीसाधन रोकेका खबरहरू आइरहँदा रूपन्देहीको सुनौली नाकामा भने कुनै पनि अवरोध नभएको सुनौली भन्सार कार्यालयले जानकारी दिएको छ ।
संविधान जारीपश्चात् भारत सरकारले असन्तुष्ट आशयसहितको दुई दिनमा दुई वक्तव्य जारी गरेलगत्तै नेपालमा सीमा नाका बन्द हुने चर्चासमेत चलेको थियो । भारतको रक्सौलमा नेपाली तेल ट्यांकरहरू रोक लगाइएको खबर आइरहँदा सुनौली भन्सारबाट विनाअवरोध मालबाहक ट्रक नेपाल भित्रिएका हुन् ।
सुनौली कस्टम प्रमुख मधुकर आनन्दले भन्सारमा कुनै पनि रोकतोक नगरिएको जानकारी दिए । नेपालका लागि विभिन्न सामग्री लिएर आएका कुनै पनि सवारीसाधनलाई भन्सारमा रोक नलगाइएको उनले बताए ।
यता भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेलले भारतबाट निर्वाध रूपमा सबै मालबाहक सवारीसाधन मुलुकमा भित्रिरहेको जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो दुई बजेसम्म भारतबाट दुई सय ७७ मालबाहक सवारीसाधन, २३ तेल ट्यांकर र ६ ग्यास बुलेट नेपालमा भित्रिएका छन् । भैरहवा भन्सारबाट बढी मात्रामा खाद्यान्न, पेट्रोलियम पदार्थ, एलपिजी ग्यास, क्लिन्कर, टायल्स, मार्बल, सिमेन्टलगायतका साम्रगी भित्रने गरेका छन् ।
प्रतिक्रिया