पूर्वमा पेट्रोलियम पदार्थको अभाव

मोरङ, ५ असोज ।   संविधान जारी भएसँगै भारतले आफना सबै सिमा नाकाहरू बन्द गर्ने भन्ने हल्लाका कारण पूर्वमा पेट्रोलिय पदार्थको एक्कासि अभाव भएको छ ।

नेपालका विभिन्न सिमाना बन्द गर्नेबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि सर्वसाधरणले आधारभूत सामग्री सुरक्षित गर्न  लागिपरेका छन् ।

भारतले सीमा नाका बन्द गर्ने खबर सुनेका सर्वसाधरणको इटहरीमा पेट्रोल लिनका लागि ठूलो भिड लागेको  थियो । भारतीय पक्षले तेल र ग्यासका ट्यांकर सीमामा रोक लगाउने  खबर सुनेपछि अहिल्यै तेलको सुरक्षित गर्न लाइनमा लागेको सर्वसाधरणले बताएका छन् ।

केही सर्वसधारण लाइनमा बस्दाबस्दै पम्पमै तेल सकिएपछि तेल पाउन नसकेको गुनासो गरेका छन् । एकैपटक धेरै सर्वसाधरणको भिड लागेपछि केही पेट्रोल पम्प बन्द भएका छन् ।  समाचारले सर्वसाधरणमा अन्योलता छाएको छ । अब के हुने हो भन्ने छुट्टै त्रास छाएको सर्वसारधणले बताएका छन् । एकातिर मधेस आन्दोलन, लिम्बुवान संघर्ष समितिले गरेको आन्दोलनजस्ता कारणहरूबाट अनियमित बन्न पुगेको पेट्रोलियम पदार्थको  अभाव देखिँदै आएको हो । तर, पूर्वका इटहरी, धरान, तरहरालगायतका क्षेत्रमा अत्यावश्यक वस्तुका रूपमा रहेको खाना पकाउने एलपी ग्यासकोसमेत हाहाकार हुन सुरु भएको छ ।

बजारमा अहिले सुविधा, कोसी, कामुख्यलगायतका ग्यास पाइन छाडेको सेवाग्राहीको भनाइ छ । कामख्य ग्यासका इटहरीस्थित थापा सप्लायर्सका प्रोपाइटर रमेश थापाले तीन दिनदेखि बजारमा ग्यासको अभाव सुरु भएको बताए । उनले अहिले स्टक रहेका पसलहरूले समेत ग्यास वितरण गर्न छाडेका कारण पनि बजारमा ग्यासको अभाव भएको बताए ।

प्रतिक्रिया