लिम्बुवान कार्यालय तोडफोड

limbuwan officeइलाम, ५ असोज । कांग्रसे र एमालेका कार्यकर्ताले इलामस्थित संघीय लिम्बुवान पार्टी र संघीय समाजवादी फोरम नेपालको कार्यालय तोडफोड गरेका छन् । जिल्लास्तरिय नेताहरूकै नेतृत्वको सयाँैको संख्यामा रहेका कार्यकर्ताले दिउ“सो कार्यालयमा तोडफोड गरेको संघीय लिम्बुवान पार्टीले जनाएको छ ।

केही उच्छृंखत कार्यकर्ताले लिम्बुवान पार्टी कार्यालयभित्र प्रवेश गरी तोडफोड गरेका थिए । केहीले बाहिरबाट कार्यालयमा ढुंगा प्रहार गरेका थिए । तोडफोडबाट झ्यालका सिसाहरू फुटेका छन् । साइनबोर्डमा क्षति पुगेको छ । त्यस्तै, उनीहरूले कार्यालयमा राखिएको पार्टीको झन्डा च्यातेका छन् । त्यसैगरी, सोही समूहले संघीय समाजवादी फोरमको कार्यालयमा समेत तोडफोड गरेका छन् । उनीहरूले समाजवादीको झन्डा च्यात्नुका साथै जलाएको सो पार्टीले जनाएको छ ।

बन्द गराउँदै हिँडेका लिम्बुवानका कार्यकर्ता र खुलाउँदै हिँडेका कांग्रेस–एमालेका कार्यकर्ताबीच जम्काभेट भएपछि स्थिति तनावग्रस्त भएको प्रहरीले जनाएको छ । सामान्य झडपछि बन्दकर्ताहरू भागेको र कांग्रेस–एमालेका कार्यकर्ता नाराबाजीसहित तोडफोड गर्न लिम्बुवानको कार्यालय पुगेका थिए । प्रहरीको सुरक्षा मजबुत भएकाले लिम्बुवानको कार्यालयमा ठूलो क्षति हुनबाट बचेको इन्सपेक्टर याम पौड्यालले बताए । ‘तोडफोडका लागि सयौँको संख्यामा आएका उत्तेजक समूहलाई हामीले कार्यालय प्रवेशमा रोकेका थियौँ’ इन्सपेक्टर थापाले भने, ‘एक÷दुई जना अर्कै बाटो भएर भित्र पसेछन् । केहीको ढुंगा प्रहारबाट सामान्य क्षति पुग्यो ।’ अहिले लिम्बुवानको कार्यालयमा प्रहरीले सुरक्षा दिइरहेको छ ।

यता लिम्बुवान र समाजवादीले कार्यालय तोडफोडको कडा निन्दा र भ्रत्सर्ना गरेको छ । संघीय समाजवादी फोरमका जिल्ला सचिव यामप्रसाद लिम्बूले गुन्डागर्दी शैलीमा पार्टी कार्यालय तोडफोड गरिनु गैरराजनीतिक चरित्र भएको टिप्पणी गरे । ‘संविधान जारी हुनुभन्दा अघिदेखिको शान्तिपूर्ण आन्दोलनको निरन्तरतामा सरकारवादी पार्टीकै नेतृत्वमा कार्यालय तोडफोड हुनु निन्दनीय छ’ लिम्बूले भने, ‘यो अलोकतान्त्रिक र गैरराजनीतिक क्रियाकलाप हो । यसले परिस्थितीलाई विगार्ने काम गरेको छ ।’संघीय लिम्बुवान पार्टीका जिल्ला अध्यक्ष डम्बर लोरिन्देनले तोडफोडमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको बताए । ‘तोडफोड गर्नेको पहिचान भएको र कारबाहीका लागि प्रशासनलाई जानकारी गराईसकेको छु’ उनले भने, ‘प्रशासनले कारबाही गर्दैन भने पार्टीले कुनै हालतमा छाड्दैन ।’ उनले इलाममा अहिलेसम्म नभएको घटना भएको भन्दै यसले नसोचेको मोड लिन सक्ने बताए । यसअघि सोमबार कांग्रेस–एमालेले झापाको दमकस्थित लिम्बुवानको केन्द्रीय कार्यालय र समाजवादीको नगर कार्यालयमा समेत तोडफोड गरिएको थियो ।

यता कांग्रेस–एमालेले भने कुनै कार्यालय तोडफोडमा आफ्नो संलग्नता नरहेको जनाएका छन् । प्रदर्शनमा संलग्नसमेत रहेका एमाले जिल्ला सचिवालय सदस्य नवराज शंकरले कार्यालय तोडफोडको कुनै जानकारी पार्टीमा नआएको बताए । ‘तोडफोड र आगजनीबारे हाम्रो पार्टीलाई कुनै जानकारी छैन । यदि, त्यसो भएको हो भने त्यो दुःखद हो ।’ शंकरले भने, ‘यद्यपि, बन्दले व्यवसायी र बजारवासी भने आक्रोशित बनेकै हुन् ।’

प्रतिक्रिया