काठमाडौं, ५ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आदिवासी थारू समुदायले उठाएको राजनीतिक मागलाई सम्बोधन गर्न आफू प्रयत्नशील रहेको बताएका छन् ।
थारू सभासद् एवं थारू नेताहरूसँग मंगलबार बिहान लाजिम्पाटमा भएको छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर समस्याको समाधान गरिने वचन दिएका थिए । छलफलमा सहभागी सभासद् सन्तकुमार थारूले आफूहरूले प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जानुअगावै समस्याको समाधान गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको जानकारी दिए ।
अध्यक्ष दाहालले मंगलवार साँझसम्म थारू संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न पहल गर्ने विश्वास दिलाएका थिए । नयाँ संविधान जारी भइसकेको अवस्थामा कुनै न कुनै माध्यमबाट राजनीतिक समस्याको हल गरिने अध्यक्ष दाहालको भनाइ थियो ।
‘अध्यक्ष दाहालले कुनै न कुनै रूपमा थारू समुदायले उठाएका मागलाई सम्बोधन गर्ने वचन दिएका छन ’ सभासद् थारूले भने, ‘वार्ताको सहज वातावरण बनेको खण्डमा हामी पनि समस्याको समाधान गर्न आतुर छौँ ।’
प्रतिक्रिया