प्रधानमन्त्री–तमलोपा अध्यक्षबीच छलफल

काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलवार मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल भएको छ । बिजुली बजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले वार्ता र छलफलको माध्यमबाटै सबै समस्या समाधान गर्न सकिने भएकाले वार्तामा आउन अध्यक्ष ठाकुरलाई आग्रह गरे ।

जवाफमा अध्यक्ष ठाकुर र सो पार्टीका अन्य नेताहरूले सरकार र प्रमुख राजनीतिक दलहरूले नै वार्ताको वातावरण बिगारेकाले आन्दोलन छाडेर वार्तामा बस्न आफूहरूलाई अप्ठ्यारो भएको बताएका थिए । छलफलमा सहभागी वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यका अनुसार मधेसी दलहरूले उठाएका अधिकांश माग संविधानमा सम्बोधन भएको तथा सम्बोधन हुन केही त्यस्ता बुँदाहरू बाँकी रहेका भए वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने तथ्य प्रधानमन्त्रीले अवगत गराएका थिए । सो पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले तराईमा भएको आन्दोलन राजनीतिक भएको र त्यसलाई सम्बोधन गर्नुको साटो प्रमुख राजनीतिक दलहरूले नै वार्ताको वातावरण बिथोलेको बताएका थिए ।

आन्दोलन छोडेर अहिले त्यत्तिकै वार्ताको टेबलमा बस्न आफूहरूलाई अप्ठेरो पर्न जाने उनको भनाइ थियो । वार्ताका लागि छलफललाई भने निरन्तरता दिँदै जाने सहमति प्रधानमन्त्री कोइरालासँग भएको उनले जानकारी दिए । तमलोपाका नेताहरूले प्रधानमन्त्रीलाई आन्दोलनबाट तराईमा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया