‘सडकमा कक्षा’

school for dabg copyदेउखुरी, ५ असोज । आयुष भट्टराई कक्षा ६ का विद्यार्थी हुन् । कक्षा कोठामा हुनुपर्ने भट्टराई बीच सडकमा देखिए । लहरै एकैनासका बालबालिका सडकमा पलेटी कसेर बसे । झोलाबाट किताब, कापी र कलम झिके अनि सुरु भयो ‘सडकमा कक्षा’ । भट्टराई शिक्षकको भूमिकामा उभिए भने अरू विद्यार्थी भुइँमा । विद्यालय बन्द गरिएको भन्दै यहाँका विद्यार्थीले यसैगरी सांकेतिक रूपमा सडकमै लेख-पढ गरेका हुन् ।

थरुहट÷थरुवान संयुक्त संघर्ष समिति देउखुरीले मंगलबारबाट पुनः विद्यालय बन्द भएको बताएपछि विद्यालय पुगेका विद्यार्थी पढ्न नपाई फर्किए । ‘झोलामा किताब, कापी बोकर स्कुल गएँ तर, पढाइ भएन, अनि फर्किएर सडकमा पढ्यौँ’ कक्षा १० की विद्यार्थी निशा पोख्रेलले भनिन्, ‘संविधान बनिसक्यो तर, हामीले पढ्न पाएनौँ ।’ नयाँ संविधान जारी भएको दुई दिन नबित्दै देउखुरीमा पुनः विद्यालय बन्द भएका छन् ।

विभिन्न माग राख्दै साउन २७ गते आमहडताल गर्दै आएका थरुहट, थारुवान संयुक्त संघर्ष समितिले पुनः विद्यालय बन्द गराएपछि देउखुरीका विद्यार्थीको भविश्य अन्योलमा परेको छ । एक महिनासम्म बन्द रहेका विद्यालय गत भदौ २७ गतेदेखि सञ्चालनमा आएका थिए । बन्द आयोजक थरुहट, थारुवान संयुक्त संघर्ष समितिले विद्यालय सञ्चालनमा कुनै अवरोध नगर्ने सहमति गरे । तर, त्यो सहमति संविधान जारी भएको दुई दिनमै तोडियो । यता विद्यार्थीले संविधान बनेको भन्दै आन्दोलनरत पक्षलाई विद्यालय खोल्न आग्रह गरिरहेका छन् । ‘स्कुल जान नपाउँदा पढेको कुरा भुल्न थालियो, अब परीक्षा कसरी दिने’ कक्षा ४ मा अध्ययनरत विद्यार्थी अनुराग गुप्ताले भने, ‘स्कुल खोल्नुस, हामी पढ्न चाहन्छौँ ।’

संविधान बनेको खुसीयालीसँगै देउखुरीमा विरोधका स्वरहरू पनि सुनिन् थालेका छन् । संविधानमा आपूmहरूको अधिकार नसमेटिएको भन्दै थरुहट, थारुवान संघर्ष समितिले आन्दोलन जारिरहेको बताइरहँदा विद्यालय जान नपाएको पीडा विद्यार्थीले सडकमार्फत पोखेका हुन् । विद्यालय जान नपाएपछि सडकमा उत्रिएका विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । हातमा प्ले कार्ड बोकेका विद्यार्थीले बजारको परिक्रमा समेत गरेका छन् । विद्यार्थीसँगै आमाहरू प्नि सडकमा देखिए । छोराछोरी स्कुल जान नपाउँदा उनीहरूको भविश्य अन्योलमा परेको भन्दै विद्यालय सञ्चालनको माग गरेका छन् ।

राजनीतिक रूपमा पूरा हुने माग राखेर गरिएको आमहडतालले हजारौँ विद्यार्थीको भविश्य अन्योलमा पारेको छ । पढाइलेखाइ गर्ने उमेरमा बन्दको नाममा विद्यालय जान नपाएका विद्यार्थीको मस्तिष्कमा कस्तो असर पर्ला कसैले ख्याल गरेको छैन । देउखुरीमा एक सय ३७ सरकारी र ५५ निजी विद्यालय छन् । २४ हजार विद्यार्थी स्कुल जानबाट वञ्चित छन् ।

आगजनी गर्न खोज्ने ९ पक्राउ
पूर्वपश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका सवारीसाधनमा ढुंगामुढा र आगजनी गर्न खोज्ने ९ जनालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

लमही नगरपालिका– ३ कौडीया नजिक वस र मोटरसाइकलमा आगजनी गर्न खोज्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीका अनुसार कौडियाभन्दा केही अगाडि गुडिरहेको बस र मोटरसाइकलमा ढुंगा हान्ने समूहमध्येका ९ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरूमा लमही नगरपालिका–१ निवासी पुरन चौधरी, मयंकर चौधरी, फूलमान चौधरी, अनिल कुमार चौधरी, निमबहादुर चौधरी, चन्द्र चौधरी, रमेश चौधरी, नारायण चौधरी र घनश्याम चौधरी छन् ।

यता मजगाउँमा भने वन्द कर्ताहरूले बुटवलबाट कैलालीको टीकापुर जाँदै गरेको लु १ ख ९३२२ नम्बरको बसमा आगो लगाएका थिए । बसको सिटमा आगो लागेको अवस्थामा तत्कालै घटनास्थल पुगेको प्रहरीले बसलाई आगोबाट बचाएको प्रहरी प्रमुख शाहीले बताए । थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताको ढुंगा प्रहारबाट बसको सिसासमेत फुटेको छ । बसमा आगो लाग्नबाट प्रहरीले बचाएको हो ।

प्रतिक्रिया