मुस्ताङबाट ‘किस्मत–२’को सुरुआत

Shilpa-Pokharel copyकाठमाडौं, ३ असोज । निर्माता छविराज ओझाले निर्माण गर्न लागेको चलचित्र ‘किस्मत–२’ को छायांकन मुस्ताङबाट सुरु भएको छ । चलचित्रको निर्देशन ऋषि लामिछानेले गर्ने भएका छन् । चलचित्रमा शिल्पा पोख्रेललाई नायिकामा राखेका निर्देशक लामिछानले मुस्ताङका मनोरम दृश्य फिल्ममा कैद गर्ने योजना बनाएको बताएका छन् ।

किस्मत चलचित्रबाट राम्रो सफलता पाएपछि निर्माता ओझाले किस्मत–२ निर्माण सुरुको बताइएको छ । मुस्ताङको जोमसोममा विशेष कार्यक्रम गरी किस्मत– २ को छायांकन सुरु गरिएकोे छ । यसअगाडि ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत’ को पनि मुस्ताङका विभिन्न पर्यटकीय स्थलमा छायांकन गरिएको थियो । ओझाले चलचित्र सफल हुनका लागि छायांकन गरिएका ठाउँले पनि महत्व राख्ने भएकाले पर्यटकीय ठाउँ मुस्ताङबाट छायांकन सुरु गरिएको बताएका छन् ।

चलचित्रमा नायिका शिल्पाका साथै नायक किशोर खतिवडा र नवकलाकार पृथ्वीराज शर्माको मुख्य अभिनय रहनेछ । चलचित्रमा श्याम भट्टराईको कथा, सामिप्य तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको संगीत छ । चलचित्र किस्मतको सिक्वेल भनिए पनि कलाकार तथा निर्देशक भने नयाँलाई राखिएको निर्देशक लामिछानले बताए । ओझाले आफ्नो जन्मदिनको अवसरमा किस्मत–२ निर्माण गर्ने घोषणा गरेका थिए । पछिल्लो समय जोमसोम र मुस्ताङमा चलचित्रको छायांकनका लागि कलाकारहरूको ओइरो लाग्न थालेको छ ।

प्रतिक्रिया