काठमाडौं, ३ असोज । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरूमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा ‘नेपालको संविधान २०७२’ आजबाट प्रारम्भ भएको घोषणा गरे ।
राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिक रूपमा नयाँ संविधान पाएको छ । नयाँ संविधान जारी भएसँगै अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।
संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गरे । उनले सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् ।
संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्नेछ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ ।
राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रूपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरू उडाइनुका साथै पटाकाहरू पनि पड्काइएको थियो । संविधान घोषणाका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउने क्रममा राष्ट्रपतिलाई बबरमहलदेखि रिसल्ला घोडचढीहरूले अगाडि र पछाडिबा स्कटिङ गरेका थिए । नयाँ बानेश्वरस्थित संविधानसभामा प्रवेश गर्दा राष्ट्रपतिलाई छेउछाउमा लामवद्ध जनताले हात हल्लाएर स्वागत गरेका थिए ।
संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ र महासचिव मनोहरप्रसाद भट्टराईले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।
राष्ट्रपतिलाई संविधानसभाको धन्यवाद
संविधान जारी गरी प्रारम्भ भएको घोषणा गरेपछि राष्ट्रपतिलाई संविधानसभाले धन्यवाद प्रस्ताव सर्वसम्मपतिले पारित ग¥यो । संविधानसभाले गडगडाहट तालीका बीच राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरेको थियो ।
त्यसपछि सभाध्यक्षले संविधानसभाले गरेका कामहरूको विवरण पेश गरे । २०७० माघ ८ गतेदेखि संविधानसभा बैठक बसेको संविधानसभा अध्यक्षले सुवास नेम्वाङले जानकारी गराए । याबीचमा संविधानसभाको १३० वटा पूर्ण बैठक बसेको थियो ।
प्रतिक्रिया