डा. उपेन्द्रको नेतृत्वमा राष्ट्रिय जागरण अभियान, नेपाल गठन

काठमाडौं, १ असोज । डा. उपेन्द्र देवकोटाको संयोजकत्वमा ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन भएको छ । अभियानका प्रवक्ता डा.विनोद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएअनुसार सो अभियानको मुख्य उद्देश्य ‘नेपालको मौलिकता, सापेक्षता र आवश्यकताअनुसार राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक प्रणालीको विकासका लागि मौलिक चिन्तन प्रणालीलाई संगठित गर्नु, आम देशभक्तहरू राष्ट्रको छातामुनि अटाउन सक्ने विचार र संगठनको निर्माण गर्नु तथा नेपालको स्वाधिनता र आर्थिक विकासको वाधाका रूपमा रहेको बाह्य दबावको अन्त्यलाई केन्द्रमा राखेर जनतामा जानु’ रहेको छ ।

नेपालको संकटको समाधानको प्रश्न एक थान संविधान नभएको भन्दै राज्यको र पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरूले पनि देशको संकट समाधान नगर्ने ठहर गर्दै विज्ञप्तिमा दशकौंदेखिको यो गोलचक्करबाट मुक्ति पाउन नेपालीहरू नयाँ चेतनाबाट उठ्नुको विकल्प नभएको औँल्याएको छ ।

नेपालको संवेदनशील भू–राजनीतिक महत्वलाई दुरुपयोग गरेर देशभित्र र बाहिरका अबान्छित शक्तिहरुको स्वार्थको प्रयोगशाला बनाउने योजनानुसार विगत केहि वर्षदेखि गहिरो बनाउँदै ल्याइएको संकट अब सारभूत रुपमा राष्ट्रिय संकटका रुपमा विकास भएको सो अभियानको ठहर छ ।

यस्तो समस्या अब नेपालीहरुका राजनीतिक, आर्थिक, सामाजिक–साँस्कृतिक, नैतिक, जनजिविका आदि क्षेत्रका समस्याहरु राष्ट्र÷राष्ट्रियताको प्रश्नका वरिपरि एकीकृत हुन पुगेको पनि विज्ञप्तिमा जनाएको छ । अभियान गठनको औचित्यबारे विज्ञप्तिमा भनिएको छ, ‘अबान्छित शक्तिहरूद्वारा विघटन र विसर्जनको दिशामा धकेल्न खोजिएको राष्ट्र÷राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकी समस्या समाधान गर्न सम्भव छैन भन्ने ऐतिहासिक अनुभवको निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान उठाउन राष्ट्रिय जागरण अभियान, नेपाल गठन भएको छ ।’

प्रतिक्रिया