रुपन्देही, २७ भदौ । तपाईं कुनै पनि कृषिसम्बन्धी जानकारी लिन चाहानुहुन्छ ? लगाएको बालीनालीमा कुनै रोग किरा पो लाग्यो की ? अथवा राम्रो आम्दानीको स्रोत कृषि पेसालाई बनाउने सोच पो बनाउनुभएको छ ? यी र यस्तै जानकारी पाउन कहाँ सम्पर्क गर्ने कुन प्राविधिकलाई भेट्ने भन्ने चिन्ताले सताएको छ भने तपाईंलाई सजिलो माध्यम बन्ने छ जिल्ला कृषि विकास कार्यालयको पैसा नलाग्ने ‘टोल फ्री’ नम्बर ।
नेपाल सरकार कृषि विभागको केन्द्रीय नीति अनुसार नै किसानलाई सित्तैमा सूचना तथा जानकारी प्रदान गर्ने अभिप्रायले विभिन्न जिल्लाहरूमा फोन गर्दा पैसा नलाग्ने टेलिफोनको व्यवस्था गरेको छ । तर, किसानहरूले निःशुल्क पाइने सूचना तथा जानकारी लिन कन्जुस्याइँ गर्ने गरेको पाइएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको ‘टोल फ्री नम्बर’ १६६००७१५२००० हो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले किसानहरूलाई निःशुल्क सूचना, जानकारी, प्राविधिक सल्लाह प्रदान गर्नका लागि भनेर व्यवस्था गरेको यो टेलिफोन नम्बरमा कमै मात्रमा फोन आउने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार किसानहरूले निःशुल्क टेलिफोन गरी जानकारी लिन पाइन्छ भन्ने ज्ञानको कमी भएको कारणले नै कम मात्रामा फोन आउने गरेको छ । उनी भन्छन्, ‘खै किसानहरूलाई हामी पटकपटक यो नम्बरमा फोन गर्नूस् पैसा लाग्दैन भन्ने गरेका छौँ तैपनि किसानहरूले कम मात्रामा फोन गर्ने गर्नुभएको छ ।’
केही अगुवा कृषकहरूले नियमित रूपमा नै टोल फ्री नम्बरमा फोन गरेर सूचना, जानकारी र सल्लाह लिने गरेको भए पनि आम किसानहरूले नजिकै रहेको कृषि सेवा केन्द्रका प्राविधिक तथा प्रमुख र जिल्ला कृषि विकास कार्यालयका विभिन्न फाँटमा रहेका प्रमुख तथा प्राविधकहरूसँग व्यक्तिगत मोबाईल नम्बरमा फोन गरेर जानकारी लिने गरेको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीको भनाइ रहेको छ । कुनै समय जिल्ला कृषि विकास कार्यालले व्यवस्था गरेको टोल फ्री फोनमा अली बढी मात्रामा फोन गरेर सूचना, जानकारी र परामर्श लिने गरेको भए पनि पछिल्लो समयमा घट्दै गएको हो । जिल्ला कृषि विकास कार्यालयमा अनुदान तथा कुनै विशेष सूचना प्रकाशन भएको बेला अलि बढी मात्रामा फोन आउने गरेको र अन्य समयमा कम आउने गरेकोसमेत पाइएको छ ।
यता पाल्पा जिल्लामा पनि किसानहरूले निःशुल्क सूचना लिन कन्जुस्याइँ गर्ने गरेको पाइएको छ । जिल्ला कृषि विकास कार्यालय पाल्पाका प्रमुख राजेन्द्र कोइरालाका अनुसार सो कार्यालयको टोल फ्री नम्बर १६६००७५५२००० हो । तर किसानहरूले यो नम्बरमा कमै मात्रामा फोन गर्छन् । कृषि विकास कार्यालयका प्रमुख कोइराला भन्छन्, ‘धेरै किसानलाई जानकारी नभएर पनि हुन सक्छ, अन्य मोबाइलमासमेत कम खर्च लाग्ने कारणले पनि जे विषयमा जानकारी लिन खोजेको हो, त्यही विषयका प्राविधिकसँग सल्लाह तथा सूचना जानकारी लिने गरेको हामीले पाएका छौँ ।’
सरकारले निःशुल्क रूपमा व्यवस्था गरेको टेलिफोनको भरपुर उपयोग हुनुपर्ने भन्दै प्रमुख कोइरालाले कुनै विषेश सूचना प्रकाशन गरेको बेला अलि बढी मात्रामा फोन आउने गरेको जानकारी दिए । जिल्ला कृषि विकास कार्यालय पाल्पाले आफ्नो वेबसाइट र फेसबुक मार्फतसमेत सूचना तथा जानकारी दिने गरेको पाइएको छ ।
www.dadopalpa.gov.np नामको वेबसाइट अपडेट रहेको छ भने अन्य लुम्बिनी अञ्चलका जिल्लाहरू कपिलवस्तु, अर्घाखाँची, र रुपन्देहीको वेबसाइट अहिले बन्द भएको छ भने नवलपरासी जिल्लाको वेबसाइट भने पैसा नतिरेर ब्लगस्पटमा परिणत भएको छ ।
प्रतिक्रिया