मोरङ, ३० भदौ । हरितालिका तीजपर्वमा दर खाएर व्रत बसेका नेपाली नारीलाई मनोरञ्जन प्रदान गर्नका लागि सुनसरीको धरान, इटहरी, तरहरा, झुम्कालगायतका स्थानमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको थियो ।
इटहरी उपमहानगरपालिकाका २६ ओटै वडाहरूमा त्यहाँ रहेका विभिन्न संघसंस्था एवं पार्टीका महिलाहरूले संयुक्त रूपमा तीज विशेष कार्यक्रमको आयोजना गरेका छन् । अखिल नेपाल महिला संघ इटहरी नगर कमिटीले इटहरीको मुख्य चौकमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा इटहरीका तीज विशेष प्रतियोगितात्मक नृत्यसमेत प्रस्तुत गरिएको छ । तीज विशेष कार्यक्रममा वक्ताहरूले अब देशमा संविधान बन्न लागेका कारण सबैका घरघरमा दिपावली गर्नुपर्ने कुरामा जोड दिएका छन् । एमाले नेता रामप्रसाद चौलागाईंले मधेसमा अनावश्यक माग राखेर बन्द हडताल गरिरहेको भए पनि देशमा संविधान आउन लागेको भन्दै खुसी व्यक्त गरे ।
उनले अब आउन लागेको संविधानलाई नमान्ने व्यक्ति कहिल्यै नेपाली हुन नसक्ने ठोकुवा गरे । कार्यक्रममा एमाले नेतृ लक्ष्मी गौतम, यशोधा अधिकारी, विष्णु शर्मा नेपाल, इटहरी नगरपालिकाका पूर्व मेयर सर्बध्वज सावालगायत दर्जन बढी वक्ताहरूले मन्तव्य राखेका थिए । वक्ताहरूले तीजसँगै देशमा संविधान आएपछि शान्ति छाउने कुरामा जोड दिएका थिए । कार्यक्रममा अतिथि बनेका सम्पूर्ण वक्ताहरूसमेत तीजका गीतमा मनोरञ्जन गर्दे मञ्चमै नाचगान गरेका थिए ।
यस्तै इटहरी लेडी जेसिजले इटहरीमा आयोजना गरेको कार्यक्रममा इटहरी तथा यस आसपासका क्षेत्रका ठूलो संख्यामा व्रतालु महिलाहरूले सहभागिता जनाएका छन् । बिहानैदेखि निराहार व्रत बसेर पूजापाठ सिध्याएपछि इटहरी चोकमा भेला भएका हजारौँ व्रतालु महिलाले तीज गीतसँगै नाचगान हेर्नका लागि त्यतिधेरै भिड लागेको देखिएको छ । इटहरी लेडी जेसिजले तीज पर्वलाई तडकभडक र खर्चिलो होइन संस्कृति वा नेपाली धार्मिक सस्कारलाई जीवित राख्न विशेष आग्रहसमेत गरेको छ । सो कार्यक्रममा अञ्जु गौतम, चन्दा खडकालगायतका कलाकारहरूले समेत तीज गीत प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।
इटहरी–२ शान्तिनगरमा रहेको संयुक्त नारी मञ्चले समेत देवीथान चोकमा बृहत् तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा बोल्दै मञ्चकी गायत्री आलेले तीजलाई सबैको साझा पर्वका रूपमा विकास गर्नुपर्ने कुरामा जोड दिएकी थिइन् । इटहरी हलगडामा पनि विभिन्न महिला समूहले तीज पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी मनोरञ्जन गरेका छन् । यस्तै तरहरामासमेत विभिन्न संघसंस्थाको आयोजनामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
यसैबीच मोरङको बिराटनगर, बिराटचौक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी, रंगेलीलगायतका ठाउँमासमेत विविध कार्यक्रम गरी तीज मनाइएको छ ।
प्रतिक्रिया