लहान सामान्य बन्दै

सिरहा ३० भदौ । जिल्ला प्रशासन कार्यालय सिरहाले एक सातादेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा र दंगाग्रस्त क्षेत्रलाई बुधबार बिहानबाट आशिंक रूपमा हटाएको छ ।

सिरहाका सिडिओ डा. मानबहादुर विकेले सुरक्षा अवस्था केही सामान्य बन्दै गएको बताएका छन् । उनले विभिन्न चाडपर्वलाई मध्यनजर गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान पुलदेखि कमला पुलसम्मको पाँच सय मिटर दायाँबायाँको क्षेत्रमा लगाउँदै आएको निषेधज्ञा र दंगाग्रस्त क्षेत्रको समय बुधबार बिहान सात बजेबाट प्रत्येक दिन बिहान सात बजेदेखि बेलुका ९ बजेसम्मका लागि हटाइएको जानकारी दिएका छन् । तर प्रत्येक दिन बेलुका ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म अर्काे सूचना जारी नहुन्जेलसम्म सो क्षेत्रमा निषेधज्ञा र दंगाग्रस्त क्षेत्र कायमै रहने उनले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले रुख ढालेर गरेको अवरोध प्रहरीले हटाउने क्रममा गत २३ गते साँझ प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि स्थिति असहज भएको भन्दै स्थानीय प्रशासनले २४ गते १२ बजेदेखि लहानस्थित बलान खोलादेखि कमला नदीको पुलसम्म र सहायक मार्गको नयाँ चाहर्वादेखि सिरहाको लच्कापुलसम्मको क्षेत्रमा निषेधज्ञा र दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यसैबीच, संयुक्त मधेसी मोर्चा र थारु संघर्ष समितिले आह्वान गरेको आमहडतालका कारण आज ३३ औँ दिनपनि सिरहाको जनजीवन प्रभावित भएको छ । आमहडतालको ३३औँ दिन पनि सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्र लहानसहित सदरमुकाम सिरहा, गोलबजार, मिर्चैया, बन्दीपुरलगायतका स्थानबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन् भने बजार पसल, कलकारखाना, शिक्षण संस्थासमेत बन्द छन् ।

प्रतिक्रिया