उदाउ“दी प्रतिभा नम्रता

namrata_raiकाठमाडौं, २९ भदौ । ‘आज तिम्रो कुरा सुने पराइ हुँदै छौ रे, म बस्ने दिलभित्र अरूलाई नै राख्दै छौ रे’ बोलको गीत गाएर नम्रता राई नेपाली आधुनिक गीत गायनमा प्रवेश गरेकी छन् । संगीतको दुनियाँमा पहिलो कदम उठाएकी नम्रताले सामूहिक स्वरमा आधा दर्जन बढी गीतमा आफ्नो स्वर दिइसकेकी छन् ।

उनको पछिल्लो गीत ‘छेउमा आई बसिदेऊन, मनको कुरा खोली देउन जीवनसँगै बिताउँला’ बोलको गीत बजारमा निकै चलेको छ । ४÷५ वर्षको हुँदासम्म राम्रो बोली नआएको बेला एक्कासि गीत गुनाउँदा नै बोली फुटेको उनकी आमाले सुनाएको उनले सुनाइन् । बाल्यकालमा विद्यालयमा बालगीत गाएर गायनमा समावेश भएकी उनले खोटाङ सुगमस्टारको चौथो बनेपछि यो क्षेत्रमा लगाव बढाएकी हुन् । सुम्निमा कल्चर एकेडमीमा संगीत कक्षा लिदै आएकी उनले चाम्लिङ भाषाको गीतसमेत गाएकी छन् । उनले स्वरमा निख्खारता ल्याउन सधैँ साधना आवश्यक रहेको बताउँछिन् । ‘मैले गाउँमा गीत गाएको अहिले पनि रेकर्ड, क्यासेटमा सुन्दा साधना नपुगेको रहेछ भन्ने लाग्छ ।’

उनका काका कविराज खोटाङे पनि कलाकार नै भएकाले उनलाई झनै संगीतमा आउन प्रेरणा मिलेको उनले सुनाइन् । ‘मेरो काकाले समेत एल्ब निकाल्नुभएको थियो त्यसैको प्रेरणा र परिवारको सहयोगले यहाँसम्म आएकी छु । अरू दर्शक तथा श्रोताको जिम्मा’ उनले रमाइलो पारमा भनिन् । चाँडै एकल एल्बमको तयारी रहेको बताउँदै उनले आफ्नो गुरु मण्डल साम्पाङलाई पटकपटक सम्झिरहेको बताएकी छन् । उनले काठमाडौंमा केही सिर्जनशील युवाले नियमित सञ्चालन गर्दै आएको अलग अभियानको अभियान्ताको रूपमा निरन्तर प्रतिभा तिखार्ने क्रममा रहेको बताएकी छन् ।

प्रतिक्रिया