इलाम, २८ भदौ । सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलाम र पाँचथरका पाँच छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् ।
असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनः स्थापित नहुँदा राजस्व संकलन प्रभावित भएको छ । विस्थापित ती कार्यालय पुनःस्थापना नहुँदा खुला सीमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको छ ।
पाँचथरको मेमेङ, च्याङथापु तथा इलामको छिरुवा, हिले र बन्दुके छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन सकेका छैनन् । विस्थापित कार्यालयमध्ये अहिले छब्बिसे, मानेभन्ज्याङ र तुम्लिङ पुनःस्थापित भएको पशुपतिनगर भन्सार कार्यालयका भन्सार अधिकृत प्रकाश पोखरेलले जानकारी दिए । छब्बिसे यसै चालु आवदेखि सञ्चालनमा ल्याइएको हो ।
स्रोतसाधन, कर्मचारी र बजेट अभावका कारण विस्थापित छोटी भन्सार कार्यालय पुनः स्थापित हुन नसकेको भन्सार अधिकृत पोखरेलको भनाइ छ । पुनःस्थापित भएका तीनवटा भन्सार कार्यालयमा समेत कर्मचारी अभावमा दुई÷दुईजना खटाइएको छ । कतिपय छोटी भन्सार कार्यालय मुख्य पशुपतिनगर भन्सार कार्यालयनजिकै भएकालेसमेत पुनः स्थापित नभएको बताइएको छ ।
पशुपतिनगर भन्सार कार्यालयका अनुसार दुईवटा छोटी भन्सार कार्यालय र मुख्य भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा एक करोड एक लाख मात्र राजस्व संकलन भएको थियो । सीमा क्षेत्रमा भएका दर्जनौँ अवैध नाकाबाट व्यापारीले लुकाइछिपाई सामान भित्र्याउने गरेकाले राजस्व संकलन अपेक्षाकृत हुन नसकेको भन्सार अधिकृत पोखरेलको भनाइ छ ।
प्रतिक्रिया