रौतहट, २८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध रहेका विभिन्न दलका पाँच नेतालाई गौरनगरपालिका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
गौरनगरपालिका–५ स्थित जिल्ला विकास समितिका पूर्वसभापति राजेन्द्र पटेलको घरमा बसिरहेको अवस्थामा दिउँसो एक बजे जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सुरक्षाकर्मीले पाँच नेतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा लगेको छ । तिनवटा भ्यानमा आएका प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोरप्रसाद यादव, सोही पार्टीका नेता रामेश्वर यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जमसेद, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजयकुमार गुप्ता र तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेपछि नेताहरू प्रहरी ज्यादतीको विरोध गर्दै भ्यानमै बसेर चर्का नाराबाजीसमेत गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुधीरराज शाहीले पाँचजना नेतालाई नियन्त्रणमा लिएको र उनीहरूउपर अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया