पुल निर्माण तालिम

ताप्लेजुङ, २८ भदौ । जिल्लामै पहिलोपटक स्थानीय पुलकर्मीहरूका लागि नमुना झोलुंगेपुल निर्माणसम्बन्धी तालिम सम्पन्न भएको छ । झोलुंगेपुल निर्माणसम्बन्धी आवश्यक ज्ञानसीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले बताएका छन् ।

पहिलोपटक आयोजना भएकाले गाउँमा रहेका उपभोक्ता समितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । हिमाली जिल्ला ताप्लेजुङ, विकट तथा थुप्रै ठाडा खोला भएकाले यसै आर्थिक वर्षमा सकिने गरी १५ वटा झोलुंगे पुल बनाउने योजनाअनुसार स्थानीय पुलकर्मीलाई तालिम दिइएको जिल्ला प्राविधिक कार्यालय ताप्लेजुङका सब इन्जिनियर आयुष जोशीले जानकारी दिए ।

उनका अनुसार यसै आर्थिक वर्ष ०७२÷०७३ भित्र सम्पन्न हुनेगरी जिल्लाको मेहेले, लिम्बुदिन, कालिखोला, सादेवा, पेदाङ, इखाबु, तापेथोक, तिरिङ्गे, सावादिन र हाङ्पाङलगायतका गाविसमा पर्ने ठाडा खोलामा पुल निर्माण गर्न लागिएको हो । सम्बन्धित गाविसका उपभोक्ता समितिहरूबाट तालिममा सहभागी गराइएको र उनीहरूले सो क्षेत्रमा गएर पुल निर्माणको काम गर्ने उनले जानकारी दिए ।

यसअघि आफ्नै सीप र विवेकले पुल निर्माण गर्नेहरूले थप ज्ञान पाएको तथा नयाँ सहभागीले पनि तालिम लिएपछि सहजै पुल निर्माण गर्नमा सहयोग पुगेको सहभागीहरूको भनाइ छ । सादेवाबाट तालिममा सहभागी हुन सदरमुकाम आएका सुशील सेलिङले पहिलोपटक भए पनि तालिम आयोजना गरिनु राम्रो भएको बताए । इखाबु गाविसबाट सहभागी सरिता लिम्बुले महिलाहरूले पनि पुल निर्माण गर्ने काम गर्नसकिने रहेछ भन्ने आत्मबल बढेको जानकारी दिइन् ।

जिल्ला विकास समिति ताप्लेजुङको आयोजनामा टिबिएसयू÷हेल्भेटास बर्दिबासको सहयोग तथा नर्थस्टार–मितेरी नेपाल जेभी धरान र महिला उद्दमी संघ ताप्लेजुङको सहकार्यमा सञ्चालित आठदिने तालिममा जिल्लाका विभिन्न गाविसका ४० जनाको सहभागिता रहेको थियो । ताप्लेजुङ नगरपालिका–४ स्थित पालसिंह डाँडाको खाली ठाउँमा प्रयोगात्मक अभ्याससहित भएको तालिमको समापन भने सोमबार अपराह्न जिविसको सभाहलमा भएको थियो ।

प्रतिक्रिया