ताप्लेजुङ, २६ भदौ । ताप्लेजुङको नाङ्खोल्याङ गाविसमा धानखेतीमा बेरुवा र गभारा लागेपछि किसानहरू चिन्तित भएका छन् । गोड्ने बेलाको धानमा यस्तो रोगले सताएपछि उनीहरू चिन्तित भएका हुन् ।
नाङ्खोल्याङ–२ का डिल्लीराम न्यौपानेले रोपेको अधिकांश धानमा बेरुवा र गभारा लागेको जानकारी दिए । रोगले धानको नल सखाप बनाएपछि धान उत्पादनभन्दा पनि परालको उत्पादन भने कमी हुने न्यौपानेको भनाइ छ ।
नाङ्खोल्याङ–२ कै अर्का कृषक हेमराज गौतमले आफ्नो धानबालीमा पनि बेरुवा लागेको बताए । किसानले बल्लबल्ल लगाएको धानमा यसरी बेरुवाले सताएपछि किसानहरू मर्कामा परेका छन् ।
उत्पादनमा त्यस्तो धेरै उत्तारचढाव नहुने भए पनि पशुपालनका लागि भने प्रत्यक्ष असर पुगेको किसानहरूको भनाइ छ । हिउँदमा गाईबस्तुलाई घाँस खुवाउन परालको भर पर्नुपर्ने हुन्छ ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका निमित्तप्रमुख उमेश राउतले ताप्लेजुङका अन्य गाविसमा भने यस्तो किसिमको रोग नलागेको जानकारी दिए । नाङ्खोल्याङका केही कृषकहरूको धानमा भने पात बेरुवा तथा गभाराको संक्रमण भएको जानकारी आएको राउतले बताए । ‘धानमा पात बेरुवा र गभराको संक्रमण देखिएको भए पनि यसले उत्पादनमा खासै असर पार्दैन’ निमित्तप्रमुख राउतले भने । किराले हरियो धानमा संक्रमण गरेपछि धानको हरियोपना खाने हुनाले धानको नल छोटो आउने हुँदा परालको उत्पादन भने घट्नसक्ने राउतले बताए ।
पात बेरुवा र गभाराको नियन्त्रण गर्नका लागि काँडेझारको प्रयोग, जैविक विषादी तथा अन्य विषादीको प्रयोग गर्न सकिने निमित्त प्रमुख राउतले बताए । सो रोगको अध्यायन गर्न त्यसतर्फ प्राविधिकहरूको टोली खटाइएको र टोली आएपछि विस्तृत जानकारी आउने पनि निमित्तप्रमुख राउतको भनाइ छ । यसवर्ष राम्रो वर्षा भएकोले अन्य ठाउँमा भने कुनै रोग किराको संक्रमण नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
ताप्लेजुङका ५० गाविस मध्ये ओलाङचुङगोला गाविस बाहेकका सबै गाविसमा धानखेती हुने गरेको छ । जिल्लामा कुल १० हजार ९ सय ९० हेक्टर जमिनमा धानखेती हुने गरेको जिल्ला कृषी विकास कार्यालयको तथ्यांकमा छ ।
प्रतिक्रिया