नायक विनयले गरे इन्गेज्मेन्ट

Vinay-engagejmentकाठमाडौं, २४ भदौ । पछिल्लो समयमा निकै चर्चामा रहेको नेपाली कथानक चलचित्र ‘रेशम फिलिली’ का नायक विनय श्रेष्ठले इन्गेजमेन्ट गरेका छन् । उनले बुधबार आफ्नो पारिवारिक जमघट गराएर प्रेमिका एनी थापासँग इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्टसँगै अब उनीहरूले चाँडै बिहे गर्नेछन् । सानो संसार, भिसा गर्ललगायत आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका नायक विनयले ब्युटी थेरापिस्ट एनीसँगको प्रेम सम्बन्धलाई मूर्तरूप दिन इन्गेजमेन्ट गरेको बताएका छन् । उनीहरूबीच भएको प्रेम सम्बन्ध गोप्य राखिएको थियो ।

इन्गेज्मेन्ट कार्यक्रममा नायक जीवन लुइँटेललगायतका कलाकार एवं निर्माताहरू उपस्थित थिए । विनय र एनीको विवाह मिति भने तय भएको छैन । लन्डनमा पढ्दै गरेकी एनी इन्गेजमेन्टकै लागि काठमाडौं आएकी थिइन् ।

‘रेशम फिलिली’ का निर्मातासमेत रहेका विनयले इन्गेज्मेन्ट हुनुभन्दा केही दिनअघि मात्र प्रेमिका सार्वजनिक गरेका हुन् । विनय र एनीबीच दुई वर्षको अफयेर रहेको बताइन्छ । नायिका ऋचा शर्मासँग विनयको लामो समय प्रेम थियो । विनय र ऋचाले निर्माण गरेको चलचित्र ‘भिसा गर्ल’ रिलिजपश्चात् यी दुईबीच ब्रेकअप भएको जानकारहरू बताउँछन् । उनको चलचित्र ‘रेशम फिलिली’ हाल दोस्रो हप्तामा सफलताका साथ प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया