नेफ्टा अवार्डमा श्वेताको विशेष प्रस्तुति

Sweta Khanda copyकाठमाडौं, २१ भदौ । आगामी असोज ७ गते कतारमा आयोजना हुन लागेको ‘आठौँ नेफ्टा फिल्म अवार्ड’ मा नायिका श्वेता खड्काको विशेष प्रस्तुति रहने भएको छ । नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले श्वेतालाई विशेष प्रस्तुतिका लागि आग्रह गर्दा उनले सहर्ष स्वीकार गरेको जनाएका छन् ।

केसीले श्वेताले स्टेजमा नृत्य भने नगर्ने बताए । तर, उनैले निर्माण तथा अभिनय गरेको चलचित्र ‘कोहिनुर’ को ‘के म तिम्रो होइन र’ बोलको गीतमा नायिका आश्मा डिसी र नायक संयम पुरीले नृत्य गर्ने कार्यक्रम छ । गीत सकिएसँगै श्वेताले स्टेजमा विशेष प्रस्तुति दिनेछिन् ।

अवार्डका लागि कार्यक्रम सूची तयार पारिरहेका बाबुराम दाहालले श्वेतालाई एक मन छुने कविता वाचन गराउने तयारी गरिएको बताए । तर, श्वेताको अर्को सरप्राइज प्रस्तुति पनि हुने बाबुरामले जनाए । नेफ्टाको तयारीको समयमा भेटिएकी नायिका खड्काले आफूले नृत्य नगर्ने बताएकी छन् । उनले नेफ्टा अवार्डका आयोजकले आफूलाई पनि सम्झेकोमा खुसी लागेको बताइन् । अन्तर्राष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले यसपटक कतारमा अवार्ड आयोजना गर्न लागेको हो । अवार्डमा हाँस्य कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्णको साथमा करिब ८० जना कलाकार सहभागी हुनेछन् ।

प्रतिक्रिया