‘आँसु’ लिएर आइन् रविना

aansuकाठमाडौं, २१ भदौ । सोलुखुम्बुको वाकु युङदपमा जन्मेकी रविना खालिङको निर्माण तथा कथा लेखन रहेको चलचित्र ‘आँशु’ दर्शकसामु आएको छ । वास्तविक भोगाइका शृंखलालाई मूर्तरूप दिन उनले चलचित्र आँशु निर्माण गरेको बताएकी छन् ।

‘आँशु’ चलचित्रमार्फत आफ्नो जीवन र भोगाइलाई संग्रहित गर्ने कोसिसमा रहेकी उनी द्वन्द्वकालमा तत्कालीन माओवादी जनयुद्वमा जनकलाकार भएर संघर्षमा होमिएकी थिइन् । भदौ २१ गते गोपीकृष्ण हलमा च्यारेटी सो गरेर उनले चलचित्र सार्वजनिक गरेकी हुन् ।

रविना फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘आँशु’ मा रविनाले आफ्नै वास्तविक कथालाई पृष्ठभूमिमा राखेर निर्माण गरेको बताएकी छन् । उनले भनिन्, ‘मैले जे–जे भोगेको छु त्यही कुरालाई कथा बनाएर प्रस्तुत गर्ने प्रयास गरेको हुँ ।’ उनले थपिन्, ‘आखिर मान्छेको जीवन एक प्रकारको चलचित्र नै त रहेछ ।’ हिजो घरमा दुःख गरेको, विद्यालयमा पढेको, सानै उमेरमा अन्यायको अन्त्य गर्न जनयुद्वमा हिँडेको यिनै कथाको सेरोफेरोमा चलचित्र घुमेको छ ।

चर्चित अभिनेत्री डोल्मा ह्याल्मोको विशेष भूमिका रहेको चलचित्रको कथावस्तु सवल रहे पनि केही प्राविधिक कुरामा कमजोरी रहेको प्रदर्शनपछि दर्शकहरूले प्रतिक्रिया दिएका छन् । दिनेश पाख्रिनको निर्देशनमा रहेको उक्त चलचित्रमा नयाँ कलाकारहरूको भूमिका सह्रानीय रहेको समेत दर्शकहरूको प्रतिक्रिया थियो ।

‘राम्रो नराम्रो भन्दा पनि कथा सान्दर्भिक र सामाजिक छ । जुन गरिब बस्तीमा भोगिने पीडाहरूलाई संग्रहित गर्ने कोसिस गरियो यो नै महत्वपूर्ण छ,’ किरात राई चलचित्रकर्मी संघका अध्यक्ष दिवज राईले भने । गाउँले परिवेशको यो चलचित्र आउनु अलि ढिला भएको हो कि जस्तो लागेको राईले बताएका छन् ।

चलचित्र विशेषगरी किरात समुदायको कथा उनिएको छ । सिन्धुलीको विभिन्न ठाउँमा छायांकन गरिएको आँशुमा कलाकार लीला राई, ललित राई, डोल्मा ह्याल्मो, विश्व मुखिया, डेन राई, निर्मल तामाङ, दीलिप सुब्बा तथा बालकलाकार हेलेन पाख्रिन, आरबी राईलगायतले विभिन्न भूमिकामा अभिनय गरेका छन् । रविनाको समेत अभिनय रहेको चलचित्र आँशु निर्माणार्थ सबैबाट सहयोग मिलेको उनले बताइन् । उनले सबै सहयोगी मनप्रति आभारसमेत प्रकट गरेकी छन् ।

प्रतिक्रिया