प्रदर्शनीको पैसाले जस्तापाता वितरण

jastaकाठमाडौं, २० भदौ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ फटकशिलाका भूकम्प प्रभावित ३५० घरपरिवारलाई राहातस्वरूप जस्तापाता वितरण गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कलाकारहरूको सक्रियतामा उनीहरूलाई जस्तापाता उपलब्ध गराइएको हो ।

बेल्जियमको डयुपेन वालहर्नमा ग्यालरीमा पेन्टिङ बिक्री वितरण एवं दानपत्रबाट उठेको रकमबाट प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र लुम्बिनी पिस फोरमका अध्यक्ष वासु गौतमले जस्तापाता हस्तान्तरण गरेका हुन् । ‘स्थानीय जनता भूकम्पपछि कष्टकर जीवन जिउन बाध्य भएपछि अन्तर्राष्ट्रिय रूपमा कला प्रदर्शनी गरेर सहयोग जुटाएका हौँ । नेपालमा आएको विपत्तमा सहयोग गर्ने हेतुले यो राहत बाँडेका हौँ,’ उपकुलपति रागिनी उपाध्यायले भनिन् । सहयोगका लागि बेल्जियमका कलाकार, उपकुलपति उपाध्यायलगायत युरोपका कलाकारका विभिन्न चित्रकला प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीको चाँजोपाँजो ग्यालरी सञ्चालक इन्गे साउरेन र जँ मार्क गेरिङले गरेका हुन् । जो बेलाबखत नेपाल आउने गरेका थिए ।

नेपालमा महाभूकम्पको समाचार सुन्नासाथ ग्यालरीका सञ्चालकले नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ चित्रकला बिक्रीमा राख्ने निधो गरेका थिए । ग्यालरीले अन्य बेल्जियन र जर्मन कलाकारसित सम्पर्क गरी उक्त ग्यालरीमा आफ्ना सिर्जना प्रदर्शनीमा राखेर नेपाललाई सहयोग गरेको हो ।

गत मे २२ देखि २४ सम्म आयोजना गरिएको उक्त प्रदर्शनीमा कुल १ सय ५ मध्ये ६९ कलाकारका कला सिर्जना बिक्री भएको थियो । जसको फलस्वरूप २१ हजार युरो जम्मा भएको थियो । जसमा रागिनी उपाध्यायको सिर्जनाले मात्र दुई तिहाई जम्मा गर्न सफल भएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनबाट प्राप्त जानकारी र स्थानीय सैनिक गुल्मका लेफ्टिनेन्ट कर्नेल महेश कोइरालाको अनुरोधमा मेलम्ची नगरपालिका फटकसिलाका अति प्रभावित परिवारलाई जस्तापाता वितरण गर्ने निर्णय भएको हो । वितरण कार्यमा लुम्बिनी वल्र्ड पिस फोरमले समेत सहयोग गरेको छ ।

प्रतिक्रिया