नाइँ नभन्नु ल–४ को छायांकन

nai-nabhannu-la-4-startकाठमाडौंं । दर्शकहरूले मनपराएको चलचित्र ‘नाइँ नभन्नु ल’ को चौथो सिक्वेल छायांकन सोमबारदेखि हुने भएको छ । विकास आचार्यको निर्माण तथा निर्देशन रहने चलचित्रको शनिबार कृष्णजन्माष्टमीको अवसर पारेर शुभाराम्भ गरिएको हो ।

अघिल्ला कथा जस्तै यसपटक पनि चलचित्रमा बाल केन्द्रित कथालाई नै उठान गरिने निर्माण पक्षले जनाएको छ । यसपटक चलचित्रको मुख्य भूमिकामा बालकलाकार अनुभव रेग्मीका साथमा नायिका प्रियंका कार्की, नायक सरोज खनाल रहनेछन् । यसपटक चलचित्रमा पल शाह, वर्षा राउत र आँचल शर्माले डेब्यू गर्न लागेका छन् । उनीहरूलाई निर्देशक आचार्यले डेब्यू गराउने भएका हुन् । तीनजना नया अनुहारलाई डेब्यू गराउन लागेका निर्देशक आचार्यले भने, ‘चलचित्रको कथावस्तुले नै यसपटक नयाँ पात्र खोजेको छ । तर, चलचित्र अनुभवको वरिपरि नै घुम्नेछ ।’ डेब्यू कलाकार पल शाह र वर्षा राउतले सफल चलचित्रको सिक्वेल भएकाले पनि आफूहरूलाई काम गर्न उत्साहित भएको जनाएका छन् । साथमा चलचित्र क्षेत्रमै निरन्तर अगाडि बढ्ने उनीहरूको भनाइ छ । बालकलाकार अनुभव रेग्मीले चलचित्रमा आफ्नो भूमिका राम्रो भएको भन्दै हलमा आएपछि सबै कुरा खुल्ने जवाफ दिए ।

वसन्त सापकोटाले संगीत भरेका चलचित्रको छायांकन काठमाडांैसँगै चितवनमा पनि हुने निर्माणपक्षले बतायो । चलचित्र चैत २६ गतेबाट प्रदर्शनमा ल्याउने गरी काम अघि बढाइनेछ । चलचित्रमा हिमाल केसीको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । (सौस)

प्रतिक्रिया