तीज गीतमा बग्रेल्ती अश्लीलता

tij_geetकाठमाडौं, १८ भदौ । यस वर्ष तीजमा ज्योति मगरद्वारा अभिनित गीत ‘ढाडे बिरालो’ सार्वजानिक भएपछि लोकगीत तथा तीज गीतमा अश्लीलता बढेको भन्दै काठमाडौंमा बहस सुरु भएको छ । बिहीबार राजधानीको मार्टिन चौतारीमा भएको संगीत शृंखला ‘मुच्र्छना’ मा ‘तीज गीत र बजार’ विषयमाथि चलेको बहस अश्लीलतामाथि केन्द्रित भएको थियो ।

तीज र लोकगीतमा विकृति बढ्यो भन्ने बहस पहिलेदेखि नै चलिरहे पनि यस वर्ष मगरले अभिनय गरेको ‘ढाडे बिरालो’ बोलको गीतले अश्लीलता बढाएको आरोप सबैभन्दा धेरै खेप्नुपरेको छ ।

वक्ताका रूपमा रहेका कवि तथा समीक्षक संगीत स्रोताले तीज गीतले पछिल्लो समय महिलालाई खेलौना मात्र बनाएको आरोप लगाएका छन् । उनले ज्योतिले खेलेको भिडियोमा उनको मात्र गल्ती नभएको र त्यस्ता अश्लील गीतले दर्शकको मनोविज्ञानमा नकारात्मक धारणाको विकास गर्दै बलात्कार जस्ता दुःखद घटनाको प्रवद्र्धन गर्नसक्ने विचार राखे । ‘ढाडे बिरालो’ धेरै जनाले हेरेको नभई धेरैपटक हेरिएको र तीजगीतमा रत्यौली शैली अगाडि बढिरहेको उनको भनाइ थियो ।

उनले विदेश बस्नेले संस्कृति जोगाउन भनेर तीजगीतमा लगानी गर्दा विकृत गीतमा लगानी भइरहेको भन्दै अश्लीलतालाई रोक्न सेन्सर बोर्ड पनि उपयुक्त नहुने उनले उल्लेख गरे । ‘सेन्सर गर्दा फरक विचार राख्नेहरूको विचार पनि सेन्सर हुन पुग्छ । एउटा नकारात्मक विचारलाई रोक्न त्यसलाई नराम्रो भन्न सक्ने अर्को विचार आए नकारात्मक आफैँ रोकिन्छ,’ उनले भने ।

तीजगीतमा समाजको यथार्थ हराउँदै गएको र महिलासँग जोडिने पर्वको गीतमा महिलाकै पीडा नसुुनिनुलाई महिला मुक्ति भएको अर्थमा नबुझ्न उनको आग्रह थियो । उनले थपे, ‘एक त तीजगीत लेख्नेहरू पुरुष छन् र अर्कोतिर हिजो फरक विचार राख्नेहरू आज मूलधारको पक्षमा छन् ।’ संगीत श्रोताका अनुसार गीतले खास सत्तापक्षलाई खबरदारी गरिरहनुपर्ने भए पनि यसो नहुनुलाई समाजको विचार र अभियान कमजोर भएकाले यस्तो भएको हो ।

प्रतिक्रिया