बन्दले दूध बिक्री ठप्प

धनकुटा, १७ भदौ । लगातारको बन्दका कारण बजारमा दुधको खपत घटेपछि दुग्ध उत्पादक कृषकहरू समस्यामा परेका छन् । दुध बेचेर जीवकोपार्जनका लागि पशुपालन व्यावसायमा लागेका किसानलाई लगातारको बन्दले समस्या पारेको हो ।

किसानहरूबाट दैनिक दुध लिँदै आएका दुग्ध विकास संस्थानले अहिले हप्तामा चार दिनसम्म दुध लिन बन्द गरेपछि व्यवसाय धराशयी भई जीविकोपार्जनमै समस्या भएको किसानहरूको गुनासो छ ।

कृषकहरूका अनुसार नेपाल सरकारको मातहातमा रहेको दुग्ध विकास संस्थान विराटनगरले विभिन्न बहाना गरेर अहिले धेरै दिनसम्म पनि दुध लान छाडेको छ । दुध बिक्री गरेर घरपरिवार धान्दै गाईवस्तुहरूका लागि दानाको जोहो गर्नुपर्ने भए पनि दुध नै बिक्री नभएपछि समस्या भएको मुर्तीढुंगा– ९ का कृषक डिल्लीराम खड्काले गुनासो गरे । उनले दुध विक्री नभएकाले व्यवसाय सुरु गर्दा लिएको बैंकको साँवा त कता हो कता ब्याजसमेत तिर्न मुस्किल भएकाले घर जग्गा नै लिलामी हुने अवस्था आएको बताए ।

यता पाख्रिबास नगरपालिका–१ का पशुपालक कृषक गोविन्द थापाको गुनासो पनि उस्तै छ । ‘दुई चार लिटर भए पो खाएर पनि सक्नु’ दुध बिक्री नभएको दुखेसो पोख्दै थापाले भने, ‘दैनिक चालीस–पचास लिटर दुध खेर जाँदा साहै समस्या भएको छ ।’ मूर्तिढुंगास्थित सिद्धदेवी भण्डारी एकीकृत कृषि फार्मका प्रोपराइटर गोविन्द भण्डारीका अनुसार दुध बिक्री ठप्प भएपछि जिल्लाका अधिकांश पशुपालक कृषकहरूको बिचल्ली भएको छ । यता दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख ईश्वरीराज न्यौपानेले अहिले दुधबाट बनाइएका सामग्रीहरू मख्खन, दुधपाउडर र घिउ बन्दका कारण काठमाडौंलगायत स्थानमा पठाउन नसकिएकाले यस्तो अवस्था आएको प्रतिक्रिया दिए । उनले दुग्ध परिकार बजारसम्म पु¥याएर समस्या समाधानका लागि स्थानीय प्रशासनसँग पहल र समन्वयको काम भइरहेको जानकारी दिए ।

यता बन्दका कारण बजार अभाव भएपछि निजी डेरी उद्योगले पनि पहिलेको तुलनामा थोरै मात्र दुध लाने गरेको कृषकले बताएका छन । धनकुटा र तेह्रथुम जिल्लाबाट मात्र दैनिक बीस हजार लिटरसम्म दुध निकासी हुने गरेको जिल्ला पशु सेवा कार्यालय धनकुटाको तथ्यांक छ । धनकुटामा हाल करिब दुई हजार कृषकले व्यावसायिक रूपमा पशुपालन गरी दुध उत्पादन गर्दै आएका छन् ।

प्रतिक्रिया