घरैमा बसीबसी आम्दानी

charkhaताप्लेजुङ १६ भदौ । ताप्लेजुङ तिरिङ्गे–५ की टीकादेवी बुढाथोकी अहिले ४६ वर्ष पुगिन् । २३ वर्षको उमेरदेखि राडीपाखी बन्दै आएकी बुढाथोकीले घरमै बसीबसी राम्रो आम्दानी गर्छिन् । झरी बादल, घाम पानी कुनै पनि कुराले बाधा नगर्ने र आम्दानीको राम्रो माध्यम भएपछि बुढाथोकी परिवारको आवश्यकता पूरा गर्ने माध्यम पनि भएको छ– राडीपाखी बन्ने व्यवसाय । उनले आफ्नो ६ जनाको परिवारलाई चाहिने खर्च राडी बनेर जुटाउने गरेकी छन् । टीकाका ४ जना छोराछोरीलाई शिक्षादीक्षा दिन, स्कुल ड्रेस, किताब कापी जुटाउनलाई राडीपाखीे व्यवसायले सहयोग गरेको छ ।

आफ्नै बुबाबाट राडीपाखीको सीप सिकेर ०४९ सालदेखि राडीपाखी व्यवसाय थाले पनि उनले राडीपाखीको तालिम भने ०५९ सालमा मात्र लिइन् । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले गाउँमै राडीपाखी बन्ने तालिम दिएको उनको भनाइ छ । घरेलुबाट तालिम लिएपछि झनै हौसला बढेको उनले बताइन् ।

त्यो बेलामा दुःख कष्टका साथ गोठ धाउँदै भएपछि ९ कक्षा अध्यायन गरेकी टीकादेवीले अहिले राडीपाखी व्यवसायबाट खर्च कटाएर पनि वार्षिक एक लाखमाथिको आम्दानी गर्छिन् । उनले गत वर्ष कात्तिक यता मात्र ३५ वटा राडी बनेको सुनाइन् ।

उनको घरमै राडीपाखी प्रतिगोटा ६ हजारसम्म बिक्री हुने गरेको छ । ‘दुईपाटे राडीपाखी अरुको तुलनामा अलि महँगो छ, दुईपाटेलाई ६ हजारसम्म पर्छ तर एक पाटे राडीपाखी भने २५ सयसम्म बेच्ने गरेकी छु,’ बुढाथोकीले बताइन् ।

राडीपाखीको बजार राम्रो रहेको उनी बताउँछिन् । ‘अहिले खासै अरूले राडीपाखी बनाएर बेच्दैनन् । त्यसैले मेरो लागि त ऊन पनि प्रशस्तै नै छ, नजिकैको फावाखोला गाविस तथा लेलेप, गोलातिरबाट पनि ऊन ल्याउने गरेकी छु,’ बुढाथोकीले बताइन् । अहिले प्रतिधार्नी ऊनको तीन सय रूपैयाँ पर्छ । एक धार्नी ऊनको एउटा एकपाटे राडीपाखी बन्ने गरेको छ भने दुई धार्नी उनको दुईपाटे राडीपाखी बन्ने गरेको छ ।

‘गाउँमा ऊन ल्याइदिएर ज्याला दिने पनि छन् । उनीहरूले प्रतिराडीपाखी बनेको दुई हजारदेखि दुई हजार पाँच सयसम्म दिन्छन्,’ उनी भन्छिन् । राडीपाखी बन्न उनलाई कुनै आइतबारले बार्दैन । रातको १० बजेसम्म पनि राडीपाखी बन्ने गरेको र कहिलेकाहीँ राती दुई बजेदेखि उठेर पनि काम गर्ने गरेको उनी सुनाउँछिन । ‘रातमा निन्द्रा लाग्दैन किन त्यसै बस्ने बसिबियाँलोमै पैसा आउँछ,’ बुढाथोकीले भनिन् । बुढाथोकीसँग एकै महिनामा १३ वटा राडीपाखी बेचेर ३० हजार बढी थापेको अनुभव रहेको छ । यसरी बसीबसी आम्दानी भएपछि बुढाथोकी परिवारलाई घरखर्च धान्न ठूलो मद्दत पुगेको देखिन्छ । टीकादेवीको सीप अहिलेका युवापुस्तामा सिकाउन सके राम्रो रोजगारीको अवसर मिल्ने देखिन्छ ।

प्रतिक्रिया