जलेश्वरमा आन्दोलन उग्र हुँदै

महोत्तरी, १६ भदौ । सीमांकनको विरोधमा उत्रिएका संयुक्त मधेसी मोर्चाले गरेको प्रदर्शनको कारण महोत्तरीको जलेश्वरमा बुधबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । मोर्चाले गरेको प्रदर्शनका कारण सदरमुकाम जलेश्वरको अवस्था बिहानैदेखि तनावग्रस्त बनेको छ । विभिन्न चोकमा पटकपटक मोर्चाले प्रहरीमाथि ढुंगाप्रहार गर्दा प्रहरी र प्रदर्शनकारी बीच झडपसमेत भएको थियो ।

संयुक्त मधेसी मोर्चाका कार्यकर्ता जुलुस प्रदर्शन गरी रहँदा जलेश्वर– ५ स्थित महेन्द्र चोकमा बुधबार पटकपटक झडपसमेत भएको छ । महेन्द्रचोकमा प्रदर्शनकारीले ढुंगाप्रहार गर्न थाल्दा सुरक्षाकर्मीले बिहान प्रदर्शनकारीलाई तितरबितर पार्न एक राउन्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनको क्रममा मोर्चाका कार्यकर्ताले जलेश्वरको जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिट जलाएका छन् । त्यसैगरी, बन्दको अवज्ञा गरेको भन्दै सिनेमा हल चोकमा दुध बोकेको ज ४ प ६६२७ नम्बरको मोटरसाइकलसमेत बन्दकर्ताले तोडफोड गरेका छन् ।

अश्रुग्यासको धुवाँ सर्वसाधारणको घरसम्म पुगेपछि उनीहरू असहज महसुस गर्न थालेका छन् । जलेश्वरको जिरोमाइल, अस्पताल, सिनेमा हल, शंकर, नगरपालिका, बस स्टेन्डसहितका चोकमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र हुन थालेपछि चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथ बढाइएको छ । मंगलबार साँझ भएको प्रदर्शन तथा ढुंगा प्रहार रोक्न सुरक्षाकर्मीले १४ सेल अश्रुग्यास तथा केही राउन्ड रबरको गोली प्रहार गर्दा दुबैतर्फका एक महिलासहित आधादर्जनभन्दा बढी घाइते भएका थिए । जलेश्वर–६ का विकासकुमार साहको दाहिने खुट्टा, धमौरा–९ का राकेश सदाको पिठ्युँमा रबरको गोली तथा जलेश्वरकी सीता उपाध्याय तथा रोशन ठाकुर ढुंगा लागेर घाइते भएका छन् । घाइतेको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि मधेसी मोर्चाका नेता कार्यकर्ताले नेकपा एमाले, नेपाली कांगे्रसको पार्टी कार्यालयमा तोडफोड गरेका थिए भने महिला तथा बालबालिका, साना तथा घरेलु, शिक्षा कार्यालय, जिल्ला विकास, जिल्ला प्रशासन, राप्रपाको पार्टी कार्यालय जिल्ला निर्वाचन कार्यालय, लोकसेवाको कार्यालयमा ढुंगाप्रहार गरी क्षति पु¥याएका छन् । बन्दका कारण यातायात, शैक्षिक संस्था र उद्योगधन्दा ठप्प छन् । लगातारको बन्दको कारण सदरमुकाम जलेश्वरलगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्र बन्द हुँदा स्थानीय जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया