आममाफी माग्दै कैदीबन्दी

सुर्खेत, १६ भदौ । देश नयाँ संविधान निर्माणको संघारमा रहेको बेला आफूहरूलाई आममाफी दिनुपर्ने भन्दै सुर्खेतका कैदीबन्दीले रिले अनसन सुरु गरेका छन् । जिल्ला कारागार शाखा सुर्खेतमा रहेका कैदीबन्दीले बुधबार विभिन्न माग राख्दै कारागारमा नाराबाजीसमेत गरेका छन् ।

बुधबार दिउँसो कारागारमा रहेका कैदीबन्दीले आममाफी दिनुपर्ने, पुराना मुलुकी ऐनहरू खारेज गर्नुपर्ने, नयाँ संविधान तत्काल जारी गर्नु पर्नेलगायत माग राखेका छन् । उनीहरूले नारकीय जीवनबाट उन्मुक्ति दिएर युवाहरू देश पुनर्निर्माणमा जुट्ने उद्घोषसमेत गरेका छन् । संविधान निर्माणसँगै नेपालमा नयाँ युगको सुरुवात हुँदै गएकाले देशभरका कैदीबन्दीलाई आममाफी दिनुपर्ने कैदीबन्दी परिवार कारागार सुर्खेतका अगुवा मानबहादुर नेपालीले बताएका छन् । गल्तीको प्रयाश्चित आफूहरूले गरेको भन्दै उनले नयाँ जीवन जिउने अवसर राज्यले दिनुपर्ने बताए ।

कारागारका कैदीहरूले आफ्ना माग तत्काल पूरा नभएसम्म रिले अनसन आन्दोलन जारी राख्ने बताएका छन् । कैदीबन्दीले यही भदौ ११ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आममाफी दिनुपर्ने भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, विभिन्न राजनीतक दललगायतलाई ज्ञापन पत्र बुझाएका थिए ।

जिल्ला कारागार शाखा सुर्खेतमा हाल बालबालिकासहित २२ जना महिला र १ सय ४२ पुरुष गरी एक सय ६४ जना कैदीबन्दी रहेका छन् । तर, जिल्ला कारागार शाखा सुर्खेतको क्षमता २५ जनाको मात्र रहेको छ । नवनिर्मित भवन निर्माण कार्य अधुरै रहेकाले आफूहरूलाई बस्न निकै गाह्रो भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया