उदयपुर, १६ भदौ । प्रादेशिक सीमांकनप्रति असन्तुष्टि जनाउँदै विभिन्न समूहको बन्दका कारण उदयपुर सदरमुकाम गाईघाटमा दैनिक उपभोग्य समग्रीको अभाव हुन थालेको छ ।
लामो समयसम्म तराई बन्द हँुदा सदरमुकाम गाईघाटमा नुन, तेल, खाद्यान्न र तरकारीको अभाव भएको हो । साउन २९ गतेदेखि भएको बन्दले तराईका जिल्लाबाट दैनिक उपभोग्य समग्री आयात हुन नसक्दा खाद्यन्न अभाव भएको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव चुडामणि कार्कीले बताए ।
उनले भने, ‘हामीसँग १५ दिनसम्म पुग्ने उपभोग्य सामग्रीहरू थियो तर बन्द भएको १९ दिन पनि कटिसकेको छ ।’ सिराहा र सप्तरी जिल्ला जोड्ने सडक र यातायात नखुलेसम्म अभाव कायम रहने उनले जानकारी दिए ।
थारु समुदाय र उद्योग वाणिज्य संघबिच उदयपुर आंशिक खुल्ला गर्ने सहमति भए पनि अन्य जिल्लाबाट उपभोग्य सामग्री ल्याउने बाटो नहुँदा समस्या सिर्जना भएको छ । ‘बिहान पसल बन्द गर्ने र १२ बजेपछि बजार पसल खोल्ने सहमति त भयो तर अब पसलमा सामान नै छैन कसरी पसल खोल्नु’ पसलका सबै समान बिक्री भई सक्यो अन्य समग्री ल्याउन सकिएको छैन समान आयात गर्नेतर्फ प्रशासनले ध्यान दिनुपर्ने महासचिव कार्कीले बताए ।
स्कटिङ गरेर वा वैकल्पिक सडकको व्यवस्था गरेर भए पनि उपभोग्य सामान ल्याउनुपर्ने कुरा उदयपुर प्रशासनसमक्ष उद्योगी व्यवासायीले राखेको कार्कीले जानकारी दिए ।
बन्दको मौका छोपेर सदरमुकाम गाईघाटका व्यापारीले व्यापक कालोबजारी गर्न थालेका छन् । बन्दको बहानामा विभिन्न उपभोग्य वस्तुको अभाव देखाउँदै स्थानीय व्यापारीले वस्तुको मूल्य दुई हप्ताअघिको भन्दा तेब्बरले वृद्धि गरेका छन् ।
व्यापारीको कालोबजारीका कारण अहिले सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरक्षेत्रका उपभोक्ता ठगिने क्रम बढ्दै गएको उनीहरूको गुनासो छ । डेढ हप्ताअघिसम्म ५० प्रतिकिलोमा पाइने प्याज अहिले एक सय ५० देखि २ सय रुपैयाँमा बिक्री गर्न थालेको स्थानीय संगीता राउतले बताइन् ।
यस्तै, सब्जी व्यापारीले प्रतिकिलो ४० सम्म पर्ने आलु अहिले एक सय पर्ने बताउँछन् । यस्तै बन्दका कारण भनेर व्यापारीले वस्तुको अभाव देखाउँदै चिनी, दाल, तेललगायत वस्तुको मूल्यमा भारी वृद्धि गर्न थालेका छन् । स्थानीय पेट्रोल पम्पमा पेट्रोल, डिजेललगायत इन्धनजन्य वस्तुको अभाव हुन थालेपछि व्यापारीले कालोबजारी गरेर एक सय ७ प्रतिलिटर पर्ने पेट्रोल दुई ५० देखि तीन सयमा बिक्री गरेर उपभोक्तालाई ठग्न थालेका छन् । यसरी दैनिक उपभोग्य वस्तुको मूल्य बढेसँगै होटलमा खाना नास्ताको पनि मूल्य व्यापक वृद्धि हुन थालेको छ ।
प्रतिक्रिया