जनकपुरमा पनि निषेधित क्षेत्र तोकियो

janakpurजनकपुर, १६ भदौे । मधेसको अधिकार सुनिश्चिताको मागसहित विगत १९ दिनदेखि आन्दोलनरतकोे प्रदर्शन जनकपुरमा उग्र भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार मध्याह्न १२ बजेपछि नगर क्षेत्रका तीन सडकलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको निर्देशनमा जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकदेखि कदमचोक, स्मसानघाटस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत, उत्तिमपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालयबीचको सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

बुधबार दिउँसोेदेखि अर्को सूचना जारी नभएसम्म सो क्षेत्रलाई निषेधित घोषणा गरिएको छ । निषेधित गरिएको सो क्षेत्रमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, मालपोत, जिल्ला प्रहरी, प्रमुख जिल्ला अधिकारीको आवास, कोष तथा लेखा नियन्त्रण, वन, पशु, कृषि, सिँचाइलगायत सरकारी कार्यालयहरू छन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) अनुसार निषेधित क्षेत्रमा सभा, सेमिनार, प्रदर्शनलगायत गतिविधिमा रोक लगाइएको छ । यस क्षेत्रमा खटेका सुरक्षाकर्मीहरूलाई अन्तिम बलस्वरूप गोलीसम्म चलाउने अधिकार दिइएको छ ।

यता बुधबार १९औँ दिन पनि जनकपुर बजार बन्द रहेको छ । प्रदर्शनकारीहरूले बिहानैदेखि भानुचोक, मुरली चोक, पिराडी चोक, नयाँ बस पार्कसहितका चोकहरूमा प्रदर्शन गरेका थिए भने भानुचौक र मुरलीचौकमा झडप पनि भएकोे थियो ।

आन्दोलनकारीहरूले बुधबारदेखि बन्दलाई अझ सशक्त बनाउँदै मोटरसाइकल चलाउन पनि रोक लगाएको छ । जनकपुर—ढल्केवर सडक खण्डको सपहीमा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिई आगजनी गरिएको छ भने आधा दर्जनभन्दा बढी मोटरसाइकल तोडफोड गरिएको छ ।

त्यस्तै, आन्दोलनकारीले जनकपुरको मत्स्यपालन कार्यालयमा तोडफोड र जनकपुरको कुवा टोलमा रहेको प्रहरी चौकीमा पेट्रोलबम प्रहार गरी आगो लगाइयो ।

त्यसैगरी, संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शनलाई उग्र बनाउँदै धनुषाको महेन्द्रनगरमा रहेको नेपाल टेलिकमको कार्यालयमा तोडफोड गर्नुको साथै एक एम्बुलेन्समासमेत तोडफोड गरे ।

धनुषाको दोस्रो सहरको रूपमा रहेको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आन्दोलनकारीले उग्र प्रदर्शन गर्दै महेन्द्रनगर सखुवा चोकमा जानकी शिक्षण अस्पताल को ज १ च ५१० नम्बरको एम्बुलेन्समा तोडफोड गरेका छन् । बिरामी पु¥याएर फर्किरहेको एम्बुलेन्समा आन्दोलनकारीले ढुंगामुढा गर्दा एम्बुलेन्सका सिसा फुटेका छन् ।

त्यसैगरी, आन्दोलनकारीले नेपाल टेलिकमको कार्यालयमा समेत ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट कार्यालयको मुख्य ढोका फुटेको छ भने तीनवटा झ्यालमा क्षति पुगेको छ ।

आन्दोलनकारीले जनकपुर–ढल्केवर सडक खण्डस्थित महेन्द्रनगरको औरही पुलमा बालुवा, ढुंगागिटी, जाली, काठको मुढा, पोल राखेर पुर्णरूपमा सडक अवरुद्ध गरेका छन् । पुलको दुबैतिरको मुखमा अवरोधले गर्दा एम्बुलेन्स, साइकल, मोटरसाइकल, प्रहरी भ्यान र पैदलयात्रीलाई ओहोरदोहोर गर्न समस्या भयो ।

जनकपुरमा १२ बजे देखि विभिन्न ठाउँमा निषेधित क्षेत्र घोषण गरेलगतै सयौँको संख्यामा आन्दोलनकारी महेन्द्रनगरको मुख्य चोकहरूमा सडकमा टायर बाली प्रदर्शनमा गरिरहेका छन् ।

यता हिजो मंगलबार जनकपुरमा प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच दिनभरि झडप भएको थियो । प्रदर्शनको क्रममा भानुचोकमा प्रहरीले चलाएको गोली लागी घाइते भएका महोत्तरी पोखरभिन्डाका २० वर्षीय सुजित साहको अवस्था चिन्ताजनक भएपछि उनलाई थप उपचारका लागि राति नै विराटनगर लगिएको थियो । उनको घाँटीभन्दा तल चार गोली लागेको थियो । प्रहरीले दजनौँ राउन्ड हवाई फायर, रबरका गोली तथा पचासौँ राउन्ड अश्रुग्यासका गोला प्रहार गरेका थिए । प्रहरीको चार्ज तथा रबरको गोली लागि १८ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका थिए ।

प्रतिक्रिया