रूपन्देही, १६ भदौ । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क (चिडियाखोला) सम्मको सडकलाई ८२ फुट कायम गर्दा तीन सय घर भत्काउनुपर्ने भएको छ ।
कार्यालयले हालै गरेको नापीअनुसार सडकको दायाँबायाँ रहेका चार सय घरहरूमध्ये तीन सय दुईवटा घर ८२ फुटभित्र पर्ने देखिएको हो । यस्ता घरलाई भत्काएर सडकलाई ८२ फुट कायम गरिने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।
सडक कार्यालयले यही भदौबाट १ गतेदेखि राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको दायाँबायाँ ८२ फुटभित्रका संरचना हटाउने बताए पनि विभिन्न आन्दोलन र बन्द हड्तालले गर्दा डेढ महिनाको अवधि थप गरेको छ । कार्यालयका इन्जिनियर नरेन्द्र भट्टले भदौ १ गतेबाट संरचना हटाउने भनेर सूचना प्रकाशित गरे पनि विभिन्न राजनीतिक दलहरूले अह्वान गरेका बन्द हड्तालले गर्दा समयमा काम सुरु गर्न नसकिएको बताए ।
‘यसबीचमा हामीले कति घर ८२ फुटभित्र परेका छन् भनेर नापी ग¥यौँ ।’ इन्जिनियर भट्टले भने, ‘नापीमा व्यक्तिगत÷सार्वजनिक गरी तीन सय दुईवटा घर तथा टहरा सडकभित्र परेका छन् ।’
उनले कार्यालयले पुनः एक वा डेढ महिनाको समय थप गरेर सडकमा परेका संरचना हटाउन समय दिने र त्यसपछि पनि नहटाइएका संरचना कार्यालयले हटाउने जनाए । सडकमा परेका घरको कति भाग भत्काउनु पर्छ भन्नेबारे कार्यालयले अब चिन्ह लगाउन थाल्ने उनले जानकारी दिए । कार्यालयका अनुसार तीन सय घरमध्ये आधाभन्दा बढी घरको एक भाग मात्र भत्काउनुपर्ने अवस्था देखिएका छन् ।
यसअघि बुटवलको सडक निर्माण गर्दा कार्यालयले ८२ फुटको लालपुर्जा नभएकाले सडक मिचेर बनाइएका संरचना हटाउन सकेको थिएन । कार्य क्षेत्र रूपन्देही र नवलपरासीको तीन सय किलोमिटर पर्ने सडक डिभिजन कार्यालय बुटवलले आर्थिक वर्ष ०६९÷७० मा बुटवलदेखि नवलपरासीको गैडाकोटसम्म एक सय १४ किलोमिटर सडकभित्रका संरचना हटाएको थियो । त्यस्तैगरी ०७०÷७१ मा भूमही–भैरहवा सडकखण्डभित्रको ३० किमी सडक सफा गरेको थियो ।
इन्जिनियर भट्टले भने, ‘यस वर्षभित्र बुटवलको तीन किलोमिटर सडक सफा गर्ने कार्ययोजना छ । त्यस्तै आगामी वर्ष भैरहवा–लुम्बिनी २४ किमी सडकलाई फराकिलो बनाउने योजना सडक डिभिजनले गराएको छ ।
बुटवल–बेलहिया सडक निर्माणका क्रममा ८२ फुटमा परेका भवनहरू पनि सडक कार्यालयले धमाधम हटाइ रहेको छ । पुष्पलाल पार्कदेखि तिनाउ पुलसम्मको सडक भने ५० फुट कायम भएका कार्यालयले जनाएको छ । यसअगाडि नै सो सडकखण्डलाई कार्यालयले ५० फुट नै कायम गर्ने भनेर नापी गरेको बताइएको छ । सडक कार्यालयमा ३० जनाले घरको कति भाग सडकभित्र पर्छ चिन्ह लगाइ दिनुप¥यो । हामी आफ्नो घर आफैँ भत्काउँछौँ भनेर निवेदनसमेत दिएको कर्मचारीहरूले बताए । सरकार देशभरका मुख्य राजमार्गलाई ८२ फुट कायम गराउने अभियानमा जुटेकाले यसको कार्यान्वयन बुटवलमा पनि गर्न लागिएको हो ।
बुटवलको फोरलेन सडक बनाउँदा लालपुर्जा नभएकाले ७५ फुटलाई आधार बनाएर निर्माण गरिएको थियो । सडक डिभिजन कार्यालयले अतिक्रमित संरचना हटाउन सूचना प्रकाशित गरेपछि आसपासमा घरधनीहरू चिन्तित भएका छन् । फोरलेन सडक निर्माणको क्रममा अतिक्रमित संरचना हटाउने भनिए पनि लालपुर्जाको कारण नहटाइपछि घरधनीहरू ढुक्क भएका थिए । तर, अहिले सडक ८२ फुट कायम गर्न थालिएपछि घरधनीहरूमा नयाँ तरङ फैलिएको छ । सरकारले यस वर्षदेखि मुख्य राजमार्ग अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक सय पाँच फुट कायम गर्ने योजना ल्याएको छ ।
प्रतिक्रिया