इलामका २२ गाविसमा एलजिएफ

इलाम, १६ भदौ । इलामका २२ गाविसमा स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालनाका लागि अनुगमन कार्यक्रम सुरु गरिएको छ । स्थानीय निकाय जनप्रनिनिधिविहीन हुँदा स्थानीय निकायमा भ्रष्टाचार, अपारदर्शिता बढेको भन्दै स्थानीय शासन उत्तरदायी संयन्त्र (एलजिएफ) ले उक्त कार्यक्रम सुरु गरेको हो ।

इलामका निर्वाचन क्षेत्र नम्बर १ का आठ तथा २ र ३ का सात÷सात गाविसमा चालु वर्षदेखि अनुगमन सुरु गरिएको एलजिएफका कार्यक्रम संयोजक छवि श्रेष्ठले जानकारी दिए । क्षेत्र नम्बर १ का दानाबारी, लक्ष्मीपुर, शान्तिपुर, कोल्बुङ, चिसापानी, इरौंटार, गोर्खे र श्रीअन्तु–२ का साङरुम्बा, चुलाचुली, महमाई, जितपुर, एकतप्पा, सिद्धिथुम्का र सोयाक तथा ३ का चमैता, माईपोखरी, सुलुबुङ, सुम्बेक, नामसालिङ, नयाँबजार र सोयाङ गाविसमा स्थानीय शासन उत्तरदायी संयत्र कार्यक्रम लागू भएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको आर्थिक सहयोगमा सुनगाभा विकास संस्था इलामको सहजीकरणमा कार्यक्रम सुरु भएको हो ।

स्थानीय निकायको सेवा प्रभावकारी बनाउन र स्थानीय निकायमा भइरहेका गतिविधिबारे जानकारी गराउने उद्देश्यले गत वर्षदेखि सुरु गरिएको कार्यक्रमको प्रभावकारितामा वृद्धि भएपछि यसपटक २२ गाविसमा कार्यक्रम लागू गरिएको सुनगाभा विकास संस्थाले जनाएको छ । गत वर्ष जिविससहित तीन नगरपालिका र पाँच गाविसमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । गत वर्ष सूर्योदय र देउमाई नगरपालिका तथा पशुपतिनगर, गोदक, बरबोटे, साँखेजुङ र शान्तिडाँडामा कार्यक्रम गरिएको सञ्चालन भएको थियो । कार्यक्रमले स्थानीय निकायमा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सुझाव पेटिकाको व्यवस्था, सूचना पार्टीलगायत विभिन्न कार्यक्रमको अनुगमन गर्ने जनाइएको छ । कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि राजनीतिक दलले सुझावसमेत दिएका छन् । उक्त कार्यक्रमका लागि यस वर्ष संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २६ लाख सात हजार नौ सय ११ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया