बन्दले मल अभाव 

बर्दिया, १६ भदौ । निरन्तरको बन्दका कारण अन्नको भण्डार भनेर चिनिने बर्दिया जिल्लामा रासायनिक मल युरियाको अभाव भएको छ ।

थरूहट, थारूवान् तथा संयुक्त मधेसी मोर्चाको बन्द तीन साताभन्दा बढी भएपछि ढुवानी हुन नसक्दा जिल्लामा रासायनिक मलको अभाव भएको हो । रासायसनिक मलको अभाव भएपछि वर्षभर खाने धानमा मल हाल्न नपाउँदा कृषकहरू मारमा परेका छन् ।

धान खेतीको लागि करिब एक हजार पाँच सय मेट्रिक टन युरिया आवश्यक पर्ने भए पनि समयमै मल उपलब्ध नहुँदा धानको उत्पादनमा कमी हुने देखिएको छ । तीनपटकसम्म धान खेतीमा युरिया मलको प्रयोग गर्ने भए पनि बन्दका कारण मल अभाव भएपछि एकैपटक मात्रै गरिएको गुलरिया नपा–२ का कृषक जगत् श्रेष्ठले बताए । उनले युरिया मलका लागि एग्रोभेटहरूमा गए पनि नपाइएको गुनासो गरे । उनले भने, ‘वर्ष दिन खान पुग्ने धान मल अभावमा ६ महिना पनि नपुग्ला जस्तो भयो ।’ धान रोपेको १५÷२० दिन, बिच र धान फुल्नुभन्दा केही समयअगाडि युरिया मलको प्रयोग गर्ने गरिन्छ तर यही समयमा युरिया मलको अभाव हुँदा धेरै कृषकहरूले धानमा मल हाल्न नपाएको आचार्य एग्रोभेटका सञ्चालक रामप्रसाद आचार्यले बताए । उनले भने, ‘केही कृषकले भारतबाट लुकाई–छिपाई ल्याएर गुणस्तरहीन रासायनिक मल प्रयोग गर्ने गरेका छन् । कत्तिको धानमा रासायनिक मल नै प्रयोग गरिएको छैन ।

जिल्ला कृषि विकास कार्यालय बर्दियाका अनुसार एक सय ३५ मेट्रिक टन रासायनिक मल साल्ट टेड्रिङ करपोरेसनले बिक्री गरेको भए पनि जिल्लाका ४० प्रतिशत कृषकले अझै युरिया मल प्रयोग गर्न पाएका छैनन् । कृषक र कृषि सहकारी संस्थाबाट युरिया मलको माग बढिरहेको भए पनि मल दिन नसकिएको कृषि सामग्री केन्द्र लिमिटेड प्रशाखा कार्यालय, बर्दियाका प्रमुख नरहरि पोखरेलले बताए ।

बर्दियामा ९० सहकारी संस्थाले कृषि सामग्री केन्द्रबाट मल खरिद गरेर कृषकलाई बिक्री वितरण गर्दछन् । भारतबाट भैरहवामा युरिया मल आउनसाथ बर्दियालगायत जिल्लामा बन्दको सुरुवात भएका कारणले रासायनिक मलको अभाव भएको कार्यालय प्रमुख पोखरेलले बताए । उनले भने अन्य जिल्लामा स्कटिङ गरेर मल पठाए पनि बर्दियामा भने हालसम्म आएको छैन ।

बर्दियामा यस वर्ष करिब १५ सय मेट्रिक टन युरिया मलको माग भए पनि करिब ४० प्रतिशत कृषकले युरिया मलको उपयोग गर्न नपाएको जिल्ला कृषि विकास कार्यालय बर्दियाका कार्यालय प्रमुख हिक्मतकुमार श्रेष्ठ बताए । उनले भने, ‘जिल्लास्थित मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिबाट निणर्य गरेर केन्द्रमा पठाएको भए पनि हालसम्म मल आउन सकेको छैन ।’

बर्दियाका सिडिओ विनोदबहादुर कुँवरले भैरहवाबाट स्कटिङ गरेर ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘भैरहवाको कृषि सामग्री केन्द्र लिमिटेडमा र सिडिओलाई खबर गरिसकेको छु ।’

प्रतिक्रिया