‘विद्यालय सञ्चालन सहज बनाऊ’

देउखुरी, १६ भदौ । देउखुरीमा विद्यालय खोल्ने सहज वातावरण मिलाउन प्याब्सन दाङले आग्रह गरेको छ । विद्यालय खोल्ने सहज वातावरण निर्माण गर्न प्याब्सनका अध्यक्ष यादव गिरीले नागरिक समाज, संवाद समूह, राजनीतिक दल, अभिभावक, आन्दोलनरत पक्ष तथा सरोकारवाला समक्ष अनुरोध गरेका हुन् ।

थरुहट स्वायत्त प्रदेशको माग गर्दै साउन २७ गतेदेखि थालिएको आम हड्ताल भदौ ३१ गतेसम्म थपिएको जनाएपछि झनै वालवालिकाको भविष्यप्रति चिन्ता जगाएको हो । घोराही र तुलुसीपुरमा भदौ १४ गतेबाट विद्यालय सञ्चालनमा आएका छन् । तर, देउखुरीमा भने बन्द भएको तीन हप्ता बितिसक्दा पनि सरकारी तथा निजी विद्यालय सञ्चालनमा आउन नसकेका हुन् । निर्धारित पाठ्यक्रमअनुसार वर्षमा दुई सय २० दिन शिक्षणसंस्थाहरू अनिवार्य सञ्चालन हुनुपर्ने अवस्थालाई लगातार भैरहेको बन्द, हड्तालले प्रभाव पारेको छ । देउखुरीका एक सय ३७ सरकारी र ५५ निजी विद्यालयको पठनपाठन प्रभावित हुँदा २५ हजार बढी विद्यार्थी विद्यालय जान पाएका छैनन् ।

विद्यालय जान नपाउँदा विद्यार्थीहरूको ध्यान पढाइभन्दा अन्यत्र जान थालेको अभिभावकले बताएका छन् । भदौ ७ गते लमहीमा भएको राजनीतिक दल, नागरिक समाज र वन्दकर्ताबिच भएको छलफलले एक शैक्षिक सत्र भरी कसैले पनि विद्यालय बन्द नगर्ने लिखित सहमति गरेका थिए । तर, कैलालीको टिकापुरको घट्नालाई लिएर दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि बन्दकर्ताले सेना ब्यारेक नफर्किएसम्म र दंगाग्रस्त फिर्ता नलिएसम्म विद्यालय खोल्न नदिने वक्तव्य जारी गरेपछि विद्यालय खोल्ने वातावरण सहज बन्न नसकेको हो ।

शैक्षिक क्यालेन्डर प्रभावित भएको भन्दै प्याब्सन दाङले सम्पूर्ण सदस्य विद्यालयलाई शनिबार तथा अत्यावश्यक सार्वजनिक विदाहरूबाहेकका दिनहरूमा पूरा समय विद्यालय सञ्चालनको व्यवस्था मिलाउन अनुरोध गरेको छ । शुक्रबार पनि पूरा समय विद्यालय सञ्चालन गर्न आग्रह गरिएको हो । विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको विषयलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।

दाङमा चलहपहल बढ्दै
दाङमा बुधबार अन्य दिनको तुलनामा चहल पहल बढेको छ । मोटरसाइकल चलिरहेका छन् । केही किराना, साइकल मर्मत पसलहरू खुलेका छन् ।

होटलहरू भने पहिलेदेखि नै सञ्चालनमा आएका हुन् । बन्द लम्बिँदै जाँदा सर्वसाधारण नागरिक, व्यापारी र उपभोक्ता आजित भएसँगै घोषणा गरिएको दंगाग्रस्त क्षेत्रपछि केही सहज अनुभव नागरिकले गरेका छन् । कृष्ण जन्माष्टमी आउन थालेपछि बजारमा उपभोक्ताहरू आउन थाले पनि बन्दका कारण पूर्ण रूपमा बजार र यातायातका साधन नचल्दा समस्या भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रक र केही सार्वजनिक बस चले पनि लमही–भालुवाङ, लमही–गढवा र लमही–सतबरिया रुटमा सवारीसाधन चलेका छ्रैनन् । हाई–वेमा राती मात्रै सवारी साधन चल्छन् ।

प्रतिक्रिया