नेपालगंज, १० भदौ । संयुक्त थरुहट मधेस संघर्ष समितिले आन्दोलन केही खुकुलो पारेको छ । संघर्ष समितिले आफ्ना कार्यकर्तालाई आन्दोलनमा लाठी लिएर नआउन निर्देशन दिएको छ ।
विहीबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले तीन पांग्रे र दुई पांग्रे सवारी साधन चल्न दिने, विद्यालय खुल्न दिने तथा बजार पनि खोल्न दिने जानकारी दिएको हो ।
आन्दोलन परिचालन समितिका सहसंयोजक विजयकुमार गुप्ताले शुक्रबारदेखि पूर्ण रुपमा विद्यालय खुलाउने बताएका छन् ।
अबदेखि पसल, विद्यालय खोल्न दिने, रिक्सा, इलेक्ट्रिक रिक्सा र मोटरसाइकल चल्न दिने बन्दकर्ताले बताएका छन् । यसअघि रिक्सा, मोटरसाइकललगायत सवारी साधन ठप्प पारेका थिए । चार पांग्रे सवारी साधन पनि चल्न दिइएको छैन । बाँकेमा कर्फ्यू र निषेधाज्ञाका विद्यालयहरु बन्द छन् ।
कोहलपुर–संयुक्त थरुहट संघर्ष समितिका प्रवक्ता खुलाराम चौधरीले मध्यान्ह १२ बजेपछि पूर्वपश्चिम राजमार्गको कोहलपुर क्षेत्रमा सवारी साधन पनि चल्न दिने जानकारी दिए । १२ बजेअघि भने पसल खोल्न नदिने र सवारीका साधन गुड्न नदिने उनले बताए ।
आन्दोलन परिचालन समितिका प्रवक्ता पशुपति दयाल मिश्र र सचिव ललितकुमार रौनियारले जारी गरेको विज्ञप्तिमा आन्दोलनमा बालबालिकालाई नपठाउन अभिभावकलाई आग्रह गरिएको छ । विज्ञप्तिमा नेपालगञ्जलाई प्रादेशिक राजधानी बनाउन सहयोग गर्नसमेत अपिल गरिएको छ ।
प्रतिक्रिया