ताप्लेजुङ, १ भदौ । अरुणपूर्वका जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य बनाइनुपर्नेलगायत मागसहित संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण आइतबार पूर्वका ९ जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि छोटो तथा लामा दूरीका सवारीसाधन चलेका छैनन् । बजार पसल कलकारखाना, शिक्षण संस्था, उद्योगधन्दा, गैरसरकारी संस्था सबै ठप्प रहेका छन् । सरकारी कार्यालयमा पनि चहलपहल न्यून रहेको छ ।
यसैबीच जिल्ला विकास समितिको कार्यालय ताप्लेजुङमा बन्दकर्ताहरूले तालाबन्दी गरेका छन् । बन्दकर्ताले तालाबन्दी गराए पनि तुरुन्तै ताला फोडेर कार्यालय सञ्चालन गराइएको ताप्लेजुङका निमित्त प्रहरी प्रमुख विज्ञान बस्नेतले जानकारी दिए । यस्तै सदरमुकाममा रहेको भानुजन उच्चमाविमा बिहान कक्षा ११ र १२ को कक्षा सञ्चालन गर्न खोज्दा बन्दकर्ता तथा शिक्षकबीच समान्य घम्साघम्सी भएको छ । बन्दकर्ताहरूले सरकारी कार्यालय पनि बन्द गर्न दबाब दिइरहेका छन् । बन्दका कारण ताप्लेजुङका बजार पसल ठप्प छन् । बजारमा सदाझै चहलपहल देखिँदैन । चोकचोकमा प्रहरी परिचालित छन् । बन्दका कारण सर्वसाधारणहरू मारमा परेका छन् । कुनै अप्रिय घटना हुन नदिन ताप्लेजुङमा सुरक्षा व्यवस्था कडा बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।
सरकार र लिम्बुवानबीच गत १८ फागुन ०६४ मा भएको पाँचबुँदे सहमतिको पालना गरिनुपर्ने, अरुण–संखुवा सप्तकोशी पूर्वका ९ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य बनाइनुपर्ने लगालगायत मागसहित बन्दको आह्वान गरिएको अध्यक्ष कुमार लिंदेन मिराकद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया