तिब्बत पुग्न अझै ७६ किलोमिटर

sankhuwa savaसंखुवासभा, १ भदौ । संखुवासभा सदरमुकाम खाँदबारीबाट उत्तरीक्षेत्र किमाथाङ्कासम्म ८२ किमी सडक निर्माण कार्य सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमाबाट नेपालको किमाथाङ्कातर्फ नौ किमी र सदरमुकाम खाँदबारीबाट उत्तर ७३ किमी सडक निर्माण गरिएको हो । यसबीचमा ७६ किमी सडक निर्माण हुन बाँकी छ ।

विभिन्न ठेक्कामार्फत निर्माण गरिएका ती सडकहरू ३८ किमी स्तर उन्नति गरिएको र ४४ किमी ट्र्याक ओपन मात्र गरिएको अवस्थामा छन् । खाँदबारीबाट नुमसम्म सडकको स्तरोन्नति गरिएको छ । त्यहाँ सडकमा कतै–कतै ग्राभेल र सडक फराकिलो पार्ने काम भएको छ ।

हिउँदको समयमा खाँदबारीबाट पाथीभरा गाविसको उवासम्म ६८ किमी सडकमा यातायात सञ्चालन गरिएको भए पनि अहिले जम्मा ५० किमी सडकमा मात्र यातायात सञ्चालनमा छ । नुमबजारबाट अरूण दोभान १२ किमी सडकमा मुस्किलले यातायात सञ्चालन हुने पाइएको छ ।

यसबाहेक ट्र्याक ओपन भएको ३२ किमी सडकमा सवारीसाधन आवतजावत हुनसकेका छैनन् । अरूण दोभानको फेरि बाढीले बगाएको, त्यस आसपास ठूलो पहिरो चलेको र दोभानपारि सवारीसाधन लैजान सक्ने अवस्था नरहेको कारण त्यहाँ २३ किमी सडकमा यातायात सञ्चालन हुन नसकेको हो । त्यसैगरी, किमाथाङ्कामा निर्माण भएको नौ किमी सडक पनि आँख्लाले छेकेको बाँसभित्रको दुलोजस्तै भएको छ । किमाथाङ्का नाकास्थित अरूण नदी र दोभानस्थित अरूण नदीमा पक्की पुल निर्माण हुन नसकेको कारणबाट पनि जिल्लाको उत्तरी क्षेत्रमा सडकको स्तरोन्नति र ट्र्याक ओपन कार्यले गति लिन नसकेको छैन । तेजुङ्खोला–छुम्सुर ३५ किलोमिटर सडक ठेक्का लाग्न सकेको छैन । त्यो क्षेत्र आसपास ठेक्का लागेका किमाथाङ्का–छुम्सुर र उवा–तेजुङ्खोला सडक निर्माणको कामसमेत धेरै बाँकी छ । यसको मूल कारण सडक निर्माणसँग सम्बन्धित सामग्री ढुवानीमा समस्या हुनु हो ।

उत्तर–दक्षिण कोसी सडक कार्यालय खाँदबारीका अनुसार ठेक्का लागेका २ खण्ड सडकसहित खाँदबारीबाट तिब्बतसम्म सडक सञ्जालले जोड्नका लागि अझै ७६ किमी ट्रयाक ओपन गर्न बाँकी छ । स्वच्छन्द–याक्थुम्हाङ–पुष्पाञ्जली (जेभी)ले ठेक्का लिएको उवा–तेजुङ्खोला (हटिया) ४१ किमी सडक म्याद थप गर्नुपर्ने समयसम्म ५ किमी मात्र खनिएको छ । त्यसैगरी, शर्मा–एपेक्स्–कान्छाराम (जेभी) ले ठेक्का लिएको किमाथाङ्का–छुम्सुर १९ किमी सडक निर्माणमा पनि विविध कारणबाट ९ किमी सडक मात्र ट्रयाक ओपन खुलेको छ ।

प्रतिक्रिया