अरनिको राजमार्ग पन्छाउँदैमा हैरान

सिन्धुपाल्चोक, १ भदौ । पानी परेपछि अरनिको राजमार्गअन्तर्गतका कोदारी, तातोपानी, जुरेलगायत सडकखण्डमा माथिबाट आउने पहिराले हैरानी पारेको छ । राजमार्गमा पहिरोका कारण सवारीसाधन आवागमनका साथै पैदल यात्रीको समेत आवतजावतमा समस्या हुने गरेको छ ।

भूकम्पपछि अवरुद्ध रहेको तातोपानी नाका केही दिनअघि खुले पनि राजमार्गका विभिन्न भागमा पहिरो जाँदा फेरि अवरुद्ध भएको छ । आइतबार राती लिपिङमा पहिरो जाँदा त्यहाँका तीन घर पुरेको छ । आइतबार नै दस किलोमा ठूलो पहिरो गएको थियो । लिपिङ, दस किलोलगायत स्थानमा गएको पहिरो पन्छाउन ठूलो समस्या देखिएको छ । पहिरोले थुपारेको माटो फाल्ने ठाउँ नहुँदा कठिनाइ भइरहेको जनाइएको छ ।

सडकमा काम गर्ने चिनियाँ प्राविधिक टोलीले अहिले झन्डै १० वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेको छ । राजमार्ग सूचारु गर्न आएको चिनियाँ प्राविधिक टोली फर्कने भने पनि लगातार आएको पहिरोले नाका चल्न नसकेपछि थप १५ दिन बस्ने भएका छन् । १३ दिनका लागि आएको टोली राजमार्गमा लगातार पहिरो खसेर सडक अवरुद्ध गरेपछि थप १५ दिन बस्ने भएको हो ।

वर्षाका कारण पहिरो जान थालेपछि सडक अवरुद्ध हुने गरेको हो । पहिरोले ठूलाठूला ढुंगा सडकमा आएका छन् । पहिरो चिनियाँ प्राविधिकका साथै एक सयको सशस्त्र टोलीले पन्छाउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार थापाले बताए ।

चिनियाँ प्राविधिकसहितको टोलीले पहिरो पन्छाउने कार्य गरिरहेका छन् । डोजरले पन्छाउन नसकेको ढुंगालाई बम विष्फोट गरी पन्छाइने गरिएको छ । गएको आइतबार र सोमबार मात्रै पहिरो पन्छाउन ६ वटा विस्फोट गरिसकेको थापाले जानकारी दिए । राजमार्ग स्थायीरूपले खुलाउन गरिएको अनेकौँ प्रयासपछि पनि सडक सुचारु हुनसकेको छैन । नेपाल चीनबीचको एक मात्र स्थल व्यापारिक मार्ग ठप्प भएपछि खुलाउनका लागि दुवै देश उत्तिकै लागिपरेका छन् । सीमा नखुल्दा अरबौँ घाटा बेहोरेका व्यापारीहरू दुई देशबीच हुने छलफलपछि नाका सूचारु हुने बताउँछन् ।

जुरेमा बगेर आएको लेदोले पनि सडक अवरुद्ध पारेको र त्यसतर्फ पनि चिनियाँ टोलीले पन्छाइरहेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पनि त्यसतर्फ सुरक्षाका लागि तैनाथ छन् । जिल्लाको मेलम्ची, बाह्रबिसे, जुरे, कोदारी तातोपानी क्षेत्रमा पटकपटक पहिरो जाने गरेको छ ।

प्रतिक्रिया