बाजुरा, १ भदौ । बाजुरा जिल्लाको कर्णालीपारिका तीन गाविसलाई जोड्ने पुल दिनप्रतिदिन धरापमा परिणत हुँदै गएको छ । जीर्ण र पुरानो भएको यो पुल समयमा मर्मत गर्नुपर्ने हो । यसमा कसैको ध्यान जान नसक्दा यो समस्या आएको जुकोटका मनिजंग शाहीले बताए ।
पुलले मात्र जोडिने कर्णालीपारिका तीन गाविस वाई, जुकोट र साप्पाटा गविसका जनताको एक मात्र आवतजावत गर्ने पिलुचौर कर्णालीपुल यो साताको वर्षासँगैको बाढी आएपछि झन् कमजोर भएको छ । वर्षामा पुलको जगन्नाथतिरको जिपसमेत कटान भएको छ । स्थानीय अगुवा नरजंग शाहीले बताए ।
भद्दा गिरी मनिजंग शाहीलगायतको पहलमा निर्माण भएको पिलुचौर कर्णाली पुल पुनर्निर्माणको कुरो त परै छ । मर्मतसम्म हुन नसक्दा त्यहाँका जनतालाई सदरमुकाम र कोल्टी बजारसँगको सम्बन्ध टुट्ने हो कि भन्ने पिरलो भएको कुरा जुकोट–२ का दलबहादुर शाहीले बताएका छन् । ‘हामी सानै थियौँ, कर्णाली पुल निर्माण गर्दा आजभोलि हामी वृद्ध भइसकेका छौँ, हाम्रा पुर्खाले बनाएको कर्णाली पुल पुरानो भइसकेको छ,’ दिनहुँ जीर्ण बन्दै गएको छ । शाहीले थपे, ‘निर्माणकार्यका लागि भने कुनै पनि निकायले पहल गरेको देखिँदैन यदि कर्णाली पुल भत्कियो भने हामी कर्णालीपारिका मान्छेको सदरमुकासँगको नाता टुट्ने भएको छ । यो समस्यालाई सरोकारवाला निकायले समयमै सुनुवाइ गरिदिए हुने थियो ।
यस्तै दुई दिनअघि आफ्नो कामका लागि सदरमुकाम आएर घर फर्केका साप्पाटा–३ का शतल विकले भने, ‘केही दिनअघि पानी कम थियो, आज निकै पानीको बहाव बढेको छ । पुलमा जान पनि निकै समस्या भएको छ ।’ हुम्ला कर्णाली र मुगु कर्णाली बैलिएर आएको छ माथिबाट ठूला ठूला रुखहरू बगाएर ल्याउँदा सबै कर्णाली पुलमा अड्किने गरेको छ । यसले पनि पुल कमजोर भएको छ । वर्षा बढी भएको दिन पुललाई बगाउने गरी पुलमाथिबाट पानी बगिरहेको छ । हामीहरूलाई आवतजावत गर्न निकै सास्ती भएको छ । ‘हामी त जेनतेन वारपार गरिरहेका छौँ तर सानासाना बालबालिका र महिलालाई भने झनै सास्ती हुने गरेको छ,’ विकले भने । कर्णालीमा पानीको बहावसँगै नदी कटान हुन थालेपछि कर्णाली आसपासमा होटल व्यवसाय गर्दै आएका स्थानीय व्यपारी तथा सर्वसाधारण मानिसहरू व्यापार छोडी माथिल्लो क्षेत्रतिर जान थालेको कर्णालीमा लामो समयदेखि व्यापार गर्दै आएका गोरख गिरीले गुनासो गरे । उनका अनुसार हरेक वर्ष कर्णालीले हामीहरूलाई सास्ती दिँदै आएको छ । कर्णाली पुल पनि निकै जोखिम भइसकेको छ । पुलका पचकिलाहरू हल्लिएका छन् । आवतजावत गर्नसमेत समस्या भएको छ । बर्सेनि यो समस्या हँुदै आएको छ कुनै पनि निकायले वास्ता गरेका छैनन् । हामी कर्णालीपारिका जनताको एक मात्र आवतजावत गर्ने माध्यम नै कर्णाली पुल हो, यो पुल भत्केका दिन भने कहाँबाट आवतजावत गर्ने हो ।
कर्णाली पुल दिनहुँ जीर्ण बन्दै जाँदा स्थानीयवासीलाई भने सामान्य दैनिक उपभोग्य सामानहरू लिन कोल्टीमा आउनसमेत डराउन थालेका छन् । केही वर्ष पहिले मात्र सामान्य तटबन्धन गरिए पनि सबै तटबन्धन बाढीले बगाएपछि पुल झनै जीर्ण बनेको पुलहेरालु पाण्डव गिरीले गुनासो गरेका छन् । उनले थपे, ‘यो कर्णाली पुलका बारेमा पटकपटक जिल्लामा आवाज उठाएका छौँ तर कुनै पनि निकायले वास्ता गरेका छैनन् । यसपटक त धेरै जीर्ण भइसकेको छ । कर्णाली पुलको दायाँबायाँतिरबाट कटान सुरु हुँदा स्थानीय झनै त्रसित हुने गरेको जगन्नाथका जंगबहादुर बिष्टले दुखेसो गरेका छन् ।
वर्षायामसँगै बाजुराका विभिन्न ठाउँहरूमा रहेका झोलुंगे पुल तथा काठे पुल बगाउँदा आवतजावत गर्ने यात्रुहरूलाई दिनहुँ यात्रा कष्टकर हुने गरेको कोल्टीका रावबहादुर बोहोराले गुनासो गरेका छन् ।
प्रतिक्रिया