दलितको खबरदारी सभा

dalitपाँचथर, ३१ साउन । संविधानको प्रारम्भिक मस्यौदामा अधिकार कटौती भएको भन्दै दलितहरू आन्दोलित भएका छन् । प्रारम्भिक मस्यौदामा कटौती भएको अधिकार स्थापित गर्न भन्दै दलित संघर्ष समिति पाँचथरले शनिबार दोस्रो चरणको कार्यक्रमअन्तर्गत सदरमुकाम फिदिममा खबरदारी सभा गरेका छन् ।

फिदिमको लोकतन्त्र चोकदेखि बजार परिक्रमा गरी जिविसको प्रांगणमा आयोजित खबरदारी सभामा नेपाल दलित संघर्ष समितिका संयोजक विमल धमला, नेकपा माओवादी जिल्ला सचिव विशाल रसाइली, दलित नेताहरू राजेन्द्र रसाइली, पूर्णबहादुर रसाइलीलगायतले अब बन्ने संविधानमा कटौती भएका आफ्ना मागहरू सम्बोधन गर्न जोड दिएका थिए ।

उनीहरूले अब बन्ने संविधानमा जातीय भेदभाव तथा छुवाछुत ऐन पूर्ण रूपमा कार्यान्वयन हुुनपर्ने, राज्यका हरेक निकायमा १३ प्रतिशत दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुुनुपर्ने माग राखेका थिए । वर्षौंदेखि दलितहरू राज्यवाट शोषित, उत्पीडित भएकाले क्षतिपूर्ति स्वरूप अब बन्ने संघीय राज्यको केन्द्रमा तीन प्रतिशत, प्रान्तमा ५ प्रतिशत र स्थानीय निकायमा १० प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने माग राखेका हुन् । सभामा एमाले जिल्ला कमिटी सदस्य वरबहादुर धमलाले देशका ६० लाख दलित उत्पीडित समुदायको अधिकार कटौती गरिएको अधिकार बन्ने संविधानमा सुनिश्चित नभए बलिदान दिन तयार रहेको भन्दै आक्रोश पोखेका थिए ।

प्रतिक्रिया