दोलखा, ३१ साउन । दोलखाका अधिकांश गाउँ बस्ती पहिरो नै पहिरोको चपेटामा परिरहेका छन् ।
भूकम्पपछि सबै जमिन चिराचिरा परेका कारण गाउँ बस्तीका भूभाग यतिबेला पहिरो बगरमा परिणत हुन थालेका छन् । दोलखा सयौँ बस्ती पहिरोको उच्च जोखिममा रहेको भूगर्वविद्ले भने पनि स्थानीयवासीले डरले कहीँ कतै बसाइँ सरे पनि अधिकांश स्थानीयवासी भने जोखिमपूर्ण बस्तीमा नै बसोबास गरिरहेका छन् । यो हप्ता मात्रै पहिरोका कारण एक जनाको ज्यान गइसकेको छ भने खोलाले बगाएरसमेत एकको मृत्यु भयो ।
त्यस्तै पहिरोले केही संख्यामा घाइते भएका छन् । ‘रातैपिच्छे पहिरोले नागरिकको बसोबास खोसिरहेको छ, नागरिक भागेर बाँचिरहेका छौँ तैपनि मुकदर्शक छ, स्थानीय प्रशासन’, भन्नुहुन्छ डाँडाखर्क–८ का पहिरोले आफ्नो छोरा गुमाएका स्थानीयवासी कमल गिरी । गिरी जस्तै विभिन्न बस्तीका स्थानीयवासीको एउटै गुनासो छ, न राज्यले बसोबासको व्यवस्था मिलाउँछ, न यहाँ सुरक्षित छ भनेर भन्छ ।
सदरमुकाम चरिकोटको आवतजावत दैनिकजसो बन्द हुने गरेको छ । सदरमुकाम नजिकै रहेको चरङ्गे खोलाको पुल गत साता बगाएपछि अहिले जिल्लावासी थप मारमा परेका छन् । कहिले प्रशासनले हिम पाइप हालेर आवतजावत गराउँछ त कहिले रामेछाप खुर्कोट हुँदै स्थानीयवासी सदरमुकाम र काठमाडौं आवतजावत गर्छन् । दैनिकजसो चरंगे खोलाबाट आवतजावत गराउन प्रशासनले कार्य गरे पनि भोलिपल्ट हुन नपाउँदै बगाइसकेको हुन्छ । भूकम्पको पीडा सकिन नपाउँदा नपाउँदै पहिरोको पीडामा पिरोलिरहेका छन्, दोलखाका नागरिक ।
शुक्रबार राती करिब ९ः३० बजे आएको ठूलो पहिरोले सुस्पाक्षमावती–१, बोसिम्पाका २५ घरपरिवारका स्थानीयवासी घरै छोडेर रात कटाउन बाध्य भए । सुस्पाक्षमावती–१ र सुन्द्रावती–९ को सीमानामा पर्ने बोखरे खोलामा आएको पहिरोले गाउँ नै उच्च जोखिममा रहेको छ । अहिले विभिन्न ठाउँमा पहिरो खसिरहेको छ । गत साता मात्रै लापिलाङ गाविसका सात घर पहिरोका कारण घर छोड्न बाध्य भए । उनीहरूले अहिले त्रिपालमुनिको रात बिताइरहेका छन् । भूकम्पपछाडि दोलखाका दुई नगरपालिका र ४८ गाविसमा कुनै न कुनै बस्ती उच्च जोखिममा रहेको द्रुत भौगर्भिक अध्ययनका आधारमा पत्ता लगाइएको थियो ।
भूगर्भविद्ले बस्ती सार्न मिल्ने स्थानसमेत तोकिदिएका थिए । यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले दैवीप्रकोप उद्धार समिति र आप्mनो पहलमा असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई कसरी सुरक्षित स्थानमा बसोबास व्यवस्थित गर्न सकिन्छ भनेर लागिपरिरहेको बताए । लामिछानेले भने । ‘भूकम्पबाट पहिरोको उच्च जोखिममा रहेका नागरिकको जीवनको सुरक्षाका लागि अन्यत्र ठाउँमा अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्नलगायतका सामग्रीसमेत उपलब्ध गराइरहेको छ । (सौस)
प्रतिक्रिया